25th May | 2019 | Saturday | 2:58:47 AM

प्रांगारिक सम्मेलन सुरु : विकास मोडल परिवर्तनमा जोड

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७६ (७:१४ AM)

प्रांगारिक सम्मेलन सुरु : विकास मोडल परिवर्तनमा जोड

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन र विकासको मोडलका कारण मानव जातिले धेरै समस्या भोग्नुपरेको बताएका छन् । पुँजीवादी विकासका कारण पृथ्वी दोहन गरेर भए पनि मुनाफामात्र हेर्ने विकासले सही दिशा लिन नसक्ने उनले बताए । 

अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्थायित्वसँगै विकासको मोडल सञ्चालन विधि सही हुन नसकेमा बिकास सही बाटोमा जान नसक्ने उनको भनाइ थियो । आधुनिक खेती गर्ने भने पनि दिन प्रतिदिन मुलुक आयातमुखी बन्दै जानु चिन्ता विषय भएको उनले बताए । 

उनले भने, ‘कागतीमात्र अर्बौंको आयात गर्नुपर्ने परिस्थिति कसले सिर्जना ग¥यो ? कुन राजनीतिक प्रणालीले गरर्यो, ‘यत्रा विद्वानहरु यहाँ छन् तर कृषिमा आत्मनिर्भर त परै जाओस, परनिर्भरताको दूरी धेरै फराकिलो मात्राले बढिरहेको छ । समीक्षा गर्ने बेला आएको छ । हामी प्रकृतिको दोहन नगर्ने विकासको मोडलतिर जान चाहन्छांै । प्रांगारिक कृषिको यात्राको क्रममा आफ्नो २ वर्ष वितेको जानकारी गराउँदै उनले राजनीति गरेर प्रांगारिक खेतीमा लाग्ने सोच भए पनि त्यो सोच पूरा हुन नसक्ने अवस्था रहेको बताए । 

तथापि प्रांगारिक कृषिको मुलुकको आवश्यकता रहेको नेपालको कृषिलाई त्यसतर्फ अगाडि बढाउन सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । साथै उनले वैदेशिक रोजगारीले देशमा आम्दानीभन्दा बढी समस्या सिर्जना गरेको भन्दै देशको स्रोतसाधनको अधिकतम प्रयोग गरी नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले व्यहोरेको छ । हामी विदेशिएका युवाले ल्याएको रेमिट्यान्सको मात्र हिसाब किताब गरिरहेका छौं । त्यो भन्दा ठूलो समस्या परिवार विघटनको छ, यसबारे सोचेका छैनौं ।’ 

युवा पुस्ता विदेश जाँदा परिवारमा आएको विचलनका घटना बढेकाले अहिले समस्या परिवारभित्र भए पनि आगामी दिनमा देशमै ठूलो समस्याका रूपमा देखापर्ने उनको भनाइ थियो । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रांगारिक खेतीमा जोड दिनुपर्ने बताए । प्रांगारिक खेती गर्न सकिन्न भनेर थाकेका साथी पनि आफूले भेटेको भन्दै प्रांगारिक खेती सम्भव रहेकाले नथाक्न आग्रह गरे । 

वार्षिक रूपमा करोडौंको रासायनिक मलका भित्रिने गरेकोले विकल्पमा प्रांगारिक मल प्रयोग गरेर रासायनिक मलको आयात घटाउन सकिने उनको भनाइ थियो । उनले कर्णाली प्रदेशलाई प्रांगारिक घोषणा गरिएकोले सो क्षेत्रमा रासायनिक मल जान नदिन अहिलेदेखिनै योजना बनाएर जानुपर्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बेलैमा प्रांगारिक खेतीतर्फ नलागेमा डरलाग्दो अवस्था आउनसक्ने बताइन् । कृषिमा विषादीका कारण विभिन्न रोगको प्रकोप बढ्दै गएको भन्दै उपचार अस्पताल जानुपर्ने अवस्था आउन नदिन चुलो चौकोदेखि सचेत हुनुपर्ने बताइन् । 

रासायनिक मलले जमिनको उत्पादकत्व घटिरहेको बताउँदै उनले सुखी र स्वस्थ नेपाली हुन उत्पादन र गुणस्तर दुवै बढाउनुपर्ने बताइन् । त्यसका लागि सहकारी उपयुक्त माध्यम हुनसक्ने उनको भनाइ थियो । सांसद प्रदीप गिरीले प्रांगारिक कृषि नयाँ जीवनशैलीको माग भएकाले राज्य र मन्त्रालय नै बढी जागरुक हुनुपर्ने बताए । 

बुधबारसम्म चल्ने सम्मेलनमा नेपाल, क्युवा, भारत र भुटानका प्रांगारिकका अभियान्ताका साथै नेपालका प्रांगारिक कृषक तथा उद्यमीको सहभागिता छ । नेपाल सरकारद्वारा आयोजित सम्मेलनमा नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व छ ।


Views: 98