27th June | 2019 | Thursday | 3:43:20 PM

९ महिनाको व्यापारघाटा १० खर्ब

हिमालय टाइम्स   POSTED ON : जेठ ६, २०७६ (६:५२ AM)

९ महिनाको व्यापारघाटा १० खर्ब

काठमाडौं । आर्थिक वर्ष वर्ष २०७५÷७६ को नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.२ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आवको चैत महिनासम्मको तथ्यांकअनुसार कुल व्यापारघाटा २१.६ प्रतिशतले विस्तार भई ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत थियो । 

अघिल्लो गन्तव्यका आधारमा भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडिबुटी, ऊनी गलैंचालगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिनलगायतको निर्यात घटेको छ । 

नौ महिनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९.२ प्रतिशत, चीनबाट भएको आयात ३५.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, विद्युतीय सामग्रीलगायतको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, यातायातका साधन तथा पार्टपूर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतको आयात घटेको छ । 

रेमिट्यान्स साढे ६ खर्ब

रेमिट्यान्स आयमा २०.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आय ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.१ प्रतिशतले घटेको थियो । 

त्यस्तै समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई २ अर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ सर्ब ७२ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति.६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो ।


Views: 128