27th June | 2019 | Thursday | 4:20:09 PM

गोलभेडाको मूल्य हालसम्मकै उच्च

लेखनाथ पोखरेल   POSTED ON : जेठ ६, २०७६ (६:५४ AM)

गोलभेडाको मूल्य हालसम्मकै उच्च

काठमाडौं । उपभोक्ताले दैनिक उपयोग गर्ने गोलभेडाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय तरकारीजन्य वस्तुको अत्याधिक मूल्यवृद्धि भइरहेकोमा गोलभेडाको मूल्य भने उच्च विन्दुमा पुगेको हो । 

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको खुद्रा मूल्यसूचीअनुसार २०७६ जेठ १ गतेको गोलभेडाको औसत मूल्य प्रतिकेजी १ सय २५ रहेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिद्वारा प्रकाशित मूल्य सूची अनुसार हरेक आइतबारको मूल्य तथा भन्सार विभागबाट प्रकाशित वैदेशिक व्यापार तथ्यांकका आधारमा मूल्य विश्लेशण गरेको छ । 

विगत पाँच वर्षको मूल्यअनुसार विगतमा तीनपटक गोलभेडाको मूल्य एक सय रुपैयाँभन्दा माथि पुगेको विभागका तथ्यांक अधिकृत मोहनकुमार पुडासैनीले जानकारी दिएका छन् । उनका अनुसार सामान्यतया अक्टुबर र नोभेम्बर महिनामा मूल्य एकसय रुपैयाँ नाघेको देखिएको छ भने अप्रिल तथा मे महिनामा विगत वर्षमा गोलभेडाको मूल्य प्रतिकेजी ४० देखि ८० को बीचमा रहेको देखिएको छ । 

विगत पाँच वर्ष र सन् २०१९ को चार महिनाको तथ्याकंअनुसार सन् २०१४ मा १८ हजार मेट्रिकटन गोलभेडा आयात भएको थियो भने सन् २०१५ मा ११ हजार मेट्रिकटन आयात भएको थियो । त्यस्तै सन् २०१६ मा २२ हजार मेट्रिकटन , सन् २०१७ मा १४ हजार मेट्रिकटन र २०१८ मा ४२ हजार मेटिकट आयात भएको थियो ।

सन् २०१९ को अप्रिलसम्ममा सबैभन्दा बढी ५७ हजार मेट्रिकटन आयात भएको छ । तथ्यांकअनुसार गोलभेडाको आयातमात्र नभई केही परिमाणमा नेपालबाट पनि निर्यातसमेत हुने गरेको देखिएको छ । 

विभागले सन् २०१४ देखि सन् २०१९ सम्मको गोलभेडाको वार्षिक औसत मूल्यको विश्लेषण गरेको छ । जसहअनुसार सन् १०१४ मा प्रतिकेजी ५० रुपैयाँ रहेको थियो भने सन् २०१५मा करिब ५८ रुपैयाँ थियो । त्यस्तै सन् २०१६ मा ५९ रुपैयाँ, सन् २०१७ मा ६० रुपैयाँ, सन् २०१८ मा करिब ५४ रुपैयाँ रहेको थियो । सोही वर्षको पहिलो ५ महिनामा गोलभेडाको मूल्य क्रमशः ४५ रुपैयाँ, ५१ रुपैयाँ, ५२ रुपैयाँ, ४० रुपैयाँ, ५१ रुपैयाँ र पहिल्लो ५ महिनामा ७३ रुपैयाँ छ । 

तरकारी व्यवसायीले पनि यस वर्ष गोलभेडाको मूल्य अत्यधिक बढेको स्वीकार गरेका छन् । विगत वर्षमा पनि यसअवधिमा गोलभेडालगायत हरियो तरकारीको उत्पादनमा कमी आउने गरेको उनीहरूले बताएका छन् । पछिल्लो समय प्रतिकेजी गोलभेडाको थोक मूल्य ११० रुपैयाँसम्म पुगेको उनीहरूले बताए ।

प्रतिकुल मौसमका कारण उत्पादनमा कमी र भारतको निर्वाचनका कारण पनि आयात प्रभावित हुँदा मूल्य बढ्न गएको हो । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोम प्रसाद घिमिरेले बेमौसी वर्षा, हुरीवतास र असिनाका कारण गोलभेडाको उत्पादन घटेको बताए । त्यस्तै भारतको निर्वाचन र मुसलमानहरूको रमजान पर्वलगायतका कारण पनि गोलभेडा आयात प्रभावित हुँदा मूल्य बढ्न गएको उनको भनाइ छ । 

त्यसो त यसवर्ष भारतमै पनि गोलभेडाको मूल्य बढेको उनी बताउँछन् । तर अर्को महिनादेखि गोलभेडाको मूल्य घट्ने उनले बताएका छन् । पछिल्लो समय गोलभेडाको मूल्य घट्दो क्रममा रहेको छ । गोलभेडा प्रतिकेजी थोक मूल्य ७० देखि ७५ रुपैयाँमा झरेको उनले बताए ।

उनका अनुसार नेपाली बजारमा गोलभेडाको कुल मागको करिब ४० प्रतिशत छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ । सलादमा प्रयोग हुने ठूलो गोलभेडा भने शतप्रतिशत नै भारतबाट आयात हुने गरेको उनले बताए । ठूलो गोलभेडा लामो समयसम्म नबिग्रिने भएकाले पनि बढी माग हुने गरेको उनको भनाइ छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार ठूलो गोलभेडाको प्रतिकेजी थोक मूल्य ८५ देखि ९० रुपैयाँ र सानो गोलभेडाको थोक मूल्य ७५ देखि ८० रुपैयाँ छ । 

अन्य हरियो तरकारीतर्फ वोडी प्रतिकेजी ४५ देखि ५० रुपैयाँ, घिउ सिमी ५५देखि ६० रुपैयाँ, मटरकोशा ५५देखि ६० रुपैयाँ, भिण्डी ४५ देखि ५० रुपैयाँ, लौका ४५ देखि ५० रुपैयाँ, घिरौंला ४० देखि ४५ रुपैयाँ र तीते करेला ४५ देखि ५० रुपैयाँ रहेको छ ।


Views: 145