27th June | 2019 | Thursday | 3:56:53 PM

एनआरएनएलाई सहुलियत कार्ड

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७६ (६:३६ AM)

एनआरएनएलाई सहुलियत कार्ड

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पञ्जीकृत सदस्य एवं उनीका परिवारलाई लक्षित गरी एनआरएन फेमिली कार्डको सुरुवात गरेको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी उक्त कार्डको सुरुवात गरेको हो । 

संघका पञ्जीकृत सदस्यका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान्–श्रीमती, र छोराछोरीले यस्तो कार्ड प्राप्त गर्न सक्ने छन् । तर विवाह गरेका सन्तानले कार्ड पाउने छैनन् । संघले सदस्यलाई सदस्यताबापत केही सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यका साथ विभिन्न व्यावसायिक प्रतिष्ठानसँगको सहकार्यमा सम्बन्धित प्रतिष्ठानले प्रदान गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जसअन्तर्गत प्रतिष्ठानले संघका कार्डवाहकलाई वस्तु र सेवामा सहुलियता प्रदान गर्नेछन् ।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरूका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहकार्य गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्था, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चारसम्बन्धी क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टरलगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । 

कार्डको म्याद २ वर्षको हुनेछ । कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनुपर्नेछ । सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहनका लागि कार्डको सुरुवात गरिएको बताए । संघकी उपाध्यक्ष सपिलाराज भण्डारीले लामो समयदेखिको प्रयास सफल भएको बताइन् । 

आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैंकिङ, बीमालगायत क्षेत्रका प्रतिष्ठानसँग सहमति गरी कार्डमार्फत सहुलियतको व्यवस्था गरिने उनले जानकारी दिइन् । सो अवसरमा संघका मकाउबाट प्रतिनिधि आइसिसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाललगायतको उपस्थिति थियो ।


Views: 58