27th June | 2019 | Thursday | 4:58:26 PM

पेरिसको उच्चस्तरीय भेटवार्तामा निजी क्षेत्र पनि

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७६ (६:४५ AM)

पेरिसको उच्चस्तरीय भेटवार्तामा निजी क्षेत्र पनि


काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह एवं १०८औं सम्मेलनमा भाग लिन नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्डको म्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलमा नेपाल उद्योग वाणिज्य महासंघको पनि सहभागिता छ ।

महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सहभागी भएको हो । आइएलओको शतवार्षिकी कार्यक्रम विशेष समारोहबीच सोमबार जेनेभामा आयोजना हुँदैछ । सम्मेलन आगामी असार ६ गतेसम्म चल्नेछ ।

प्रतिनिधिमण्डलमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघको ५ प्रदेशका अध्यक्ष गुणनिधि तिवारी, महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिवी बस्नेत, महासंघको कृषि उद्यम केन्द्रका सहसभापति हेमराज ढकाल, महिला उद्यमी महासंघ नेपालका सदस्य शोभा ज्ञवालीसहित नौ सदस्यीय टोली छ । आइएलओको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा हाल युरोपको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।

आइएलओको सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा महासंघर्फबाट रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ ३० गते सम्बोधन गर्ने कार्यक्रम छ । शतवार्षिकीपछि प्रधानमन्त्रीले बेलायत तथा फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ । फ्रान्स भ्रमणका क्रममा दुई देशबीच हुने उच्चस्तरीय व्यावसायिक भेटवार्ता र सोही क्रममा महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

कार्यक्रममा महासंघका अध्यक्ष राणा, उपाध्यक्ष प्रधानसहित युरोप भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलका सदस्य सहभागी हुने महासंघले जनाएको छ । भेटवार्तामा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धनमा जोड दिइने बताइएको छ ।

फ्रान्समा हुने कार्यक्रमलाई महासंघका अध्यक्ष राणाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । भेटवार्तामा नेपाल फ्रान्सबीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केबुलकार, पर्यटन पूर्वाधार, जडिबुटी प्रशोधनलगायत क्षेत्रमा संयुक्त लगानी भिœयाउन पहल गरिने विश्वास गरिएको छ । त्यस्तै प्रतिनिधिमण्डलबाट बेलायत तथा फ्रान्सका निजी क्षेत्रका प्रतिनिधि सस्थासँगसमेत भेटवार्ता गर्नेे कार्यक्रम छ ।

Views: 49