27th June | 2019 | Thursday | 4:07:48 PM

नेपाली कार्गो रेललाई भारतीय बन्दरगाहसम्म पहुँच

लेखनाथ पोखरेल   POSTED ON : जेठ २८, २०७६ (६:४२ AM)

नेपाली कार्गो रेललाई भारतीय बन्दरगाहसम्म पहुँच

काठमाडौं । नेपाल–भारतबीच पाँच वर्षका लागि रेल सम्झौता नवीकरण भएको छ । हालै भारतमा सम्पन्न वार्तामा रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् । नयाँ सहमतिअनुसार भारतले नेपाली रेललाई कोलकाता र हल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्धान्तिक सहमति जनाएको नेपाली टोलीबाट वार्ताका नेतृत्वकर्ता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । सहमतिअनुसार अब नेपालकै रेल कोलकातासम्म जान सक्नेछ ।

भारतले नेपाललाई पहुँच दिन लागेका नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवालाई पनि सम्झौतामा समेट्ने विषयमा सहमति भएको छ भने रक्सौलको सुक्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तारमा पनि भारत सहमत भएको उनले बताए । विराटनगर र भैरहवा नाकाबाटसमेत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने साथै विरानटनर–जोगबनी, भैरहवा–नौतनुवा, कुर्ता–जयनगर रुटमा रेल सेवा सुरु भएपछि कार्गो ढुवानी गर्न दिन पनि भारत सहमत भएको उनले बताए ।

भारतीय रेलबाट लाइसेन्स पाएका अन्य रेल सेवा सञ्चालकसँग पनि नेपालले कार्गो ल्याउन सक्नेगरी व्यवस्था गर्नेबारे छलफल अघि बढाउने सहमतिसमेत भएको छ । भारतले पारवाहन सम्झौतामा व्यवस्था भएमा तेस्रो मुलुकसँग हुने व्यापारका लागि कार्गो रेल सेवा सुरु गर्न सकिने पनि जनाएको छ । तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतको धाम्रा र मुन्द्रा पोर्ट रेल सम्झौतामा थप्ने सहमति भएको छ । नेपाली बंैकिङ च्यानलमार्फत रेलभाडा ढुवानी गर्ने, डिटेन्सन र ड्युमरेज दस्तुर न्यून गर्ने, आधिकारिक कार्गो रेल सञ्चालनको दायित्व किटान गर्ने विषय समाधान हुने भन्दै भारतीय पक्षले आश्वस्त पारेको छ । तथापि, नेपाल–भारत रेल सेवा सम्झौता पुनरावलोकन बैठकमा नेपालको प्रमुख एजेण्डालाई भने भारतले अस्वीकार गरेको छ ।

बैठकमा भारतको सामुद्रिक बन्दरगाहसम्म रेल सेवा सञ्चालनको अनुमतिका साथै विराटनगर र भैरहवामा सुक्खा बन्दरगाह निर्माण गरिदिन नेपालले आग्रह गरेको थियो । भारतीय पक्षका वार्ता टोली प्रमुख तथा रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोज श्रीवास्तवले सो प्रस्ताव अस्वीकार गरेका हुन् । उनले सुक्खा बन्दरगाह निर्माणमा सहयोगको विषय आप्mनो अधिकार क्षेत्रभन्दा बाहिर रहेकोले परराष्ट्र मन्त्रालयमार्फत प्रस्तुत गर्न सुझाव दिएको मन्त्रालयले जनाएको छ ।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकाल नेतृत्वको ११ सदस्यीय टोली सहभागी भएको थियो । रेलवे सम्झौताको चौथो बैठक ६ महिनाभित्र नेपालमा हुनेछ । 

भारतसँग सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो । सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था थियो । बल्क कार्गोमा मल, चिनी, भटमास, नुन, पिना, प्लास्टिक दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूललगायत वस्तु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ ।

हालसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ । वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत बढ्दै गएको र कच्चा पदार्थको लागतकै कारण नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै नेपालको निजी क्षेत्रले बल्क कार्गोको सुविधा अन्य नाकामा समेत विस्तार गर्नुपर्ने माग गर्दै आएको थियो । सन् २०१२ मा बसेको नेपाल–भारत अन्तरसरकारी समिति (आइजिसी) को बैठकमा विराटनगर र भैरहवा नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो ।


Views: 80