19th September | 2019 | Thursday | 8:15:35 PM

सडक ठेकेदारको डोजरले पाइपलाइनमा क्षति

लेखनाथ पोखरेल   POSTED ON : जेठ २९, २०७६ (१०:२१ AM)

सडक ठेकेदारको डोजरले पाइपलाइनमा क्षति

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन पेट्रोलियम पाइपलाइनमा सडक ठेकेदारको डोजरले क्षति पु¥याएको छ । भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाइनमा सडक ठेकेदारको लापरबाहीका कारण क्षति पुगेको हो । 

वीरगञ्ज–पथलैया व्यापारिक सडक सुधार आयोजनाका ठेकेदारले पाइपलाइनमा क्षति पु¥याएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार परवानीपुरस्थित दिल्ली पब्लिक स्कुलको अगाडि पाइपलाइनमा क्षति पुगेको हो । 

पाइपलाइनमार्फत पेट्रोलियम आयात गर्दा पाइपलाइनसँगै जोडिएको सेन्सरका रूपमा काम गर्ने अप्टिकल फाइबरमा क्षति पुगेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । सिमराको परवानीपुर खण्डको पाइपलाइनमा क्षति पुगेको हो । 

पेट्रोलियम आयात गर्दा त्यसको सम्पूर्ण जानकारी राख्न इन्टरनेट जडान गरिन लागेको र त्यसका लागि बिछ्याइएको करिब ७ मिटर अप्टिकल फाइवर चुँडिएको उनले बताए । वीरगञ्ज–पथलैया व्यापारिक सडक सुधार आयोजनाको काम सपना निर्माण सेवा कम्पनीले गरिरहेको छ । 

पाइपलाइनको क्षतिबारे सत्यतथ्य बुझन निगमको केन्द्रीय कार्यालयबाट मंगलबारै टोली परिचालन गरिएको पनि पौडेलले जानकारी दिए । निगमले आगामी जुन ३० तारिखमा पाइपलाइनको परीक्षण गर्ने योजना योजना बनाएको भए पनि क्षतिका कारण ढिलाइ हुने सम्भावना देखिएको उनले बताए । 

पाइपलाइनमा डोजरले पु¥याएको क्षति सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहितको सहभागितमा छलफल गरिने निगम प्रमुख पौडेलले जानकारी दिए । क्षतिका विषयमा मुख्यसचिव, विभागीय मन्त्री मात्रिकाप्रसाद यादवलाई जानकारी गराइएको उनले बताए । रक्सौलको इण्डो–नेपालको बोर्डरदेखि अमलेखगञ्जको नेपाल आयल निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरमध्ये करिब जंगल क्षेत्रमा गरी करिब सात मिटरमा पाइप विछयाउने काम दु्रतगतिमा अघि बढाइएको छ । 

रक्सौलदेखि अमलेखगञ्जसम्म भारत र नेपालको संयुक्त लगानीमा पाइपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब ४ अर्ब रुपैयाँ लागतको पाइपलाइनको ७५ प्रतिशत भारत र २५ प्रतिशत नेपालले व्यहोर्ने सहमति छ । सरकारले २०७३ सालदेखि राष्ट्रिय गौरवका आयोजनामा पाइपलाइनको काम अघि बढाएको हो । 

निर्माण सुरु भएको ३० महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि पाइपलाइनको काम छिटो अघि बढेको थियो । हालसम्म ९५ प्रतिशत काम सकिएको निगमले जनाएको छ ।

पेटोलियमा ढुवानीमा ट्यांकरको विकल्प नहुँदा विभिन्न कारण पेट्रोलियम ढुवानी अवरुद्ध हुने गरेको छ । तर पाइपलाइनले पेट्रोलियमक आपूर्ति सहज हुनेछ । शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्नुका साथै पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दाको ट्राफिक जाम, बन्द हड्ताल जस्ता समस्याबाट उत्पन्न परिस्थितिको अन्त्य हुने निगमको भनाइ छ । 

पाइपलाइन निर्माणसँगै इन्धन ढुवानीबापतको वार्षिक २ अर्ब रुपैयाँ जोगिनेछ । ढुवानी लागतको न्यूनीकरणपछि उपभोक्ता मूल्यसमेत समायोजन हुने निगमको भनाइ छ । त्यसोत प्रारम्भिक चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याउने निगमको तयारी छ । 

देशभित्र खपत हुने पेट्रोलियममध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने गरेको छ । पाइपलाइनबाट डिजेल आपूर्ति हुनेभएपछि अमलेखगञ्ज डिपोले ३९ हजार किलोलिटरका २ र ४१ हजार किलोलिटरका २ इन्धन ट्यांकरको स्तरोन्नति गरिरहेको छ । पाइपलाइनबाट दैनिक ४ हजार किलोलिटर डिजेल आपूर्ति हुनेछ ।


Views: 125

सम्बन्धित सामग्री:

११ अर्ब बराबरको धागो निर्यात

: आश्विन २, २०७६ (६:१० PM)

नेप्से परिसूचक पुनः ओरालो

: आश्विन २, २०७६ (४:५३ PM)