24th July | 2019 | Wednesday | 8:07:42 AM

आकर्षक नारासहितको प्रदेश बजेट

प्रदेशको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा

लेखनाथ पोखरेल   POSTED ON : असार २, २०७६ (१:४४ PM)

आकर्षक नारासहितको प्रदेश बजेट

काठमाडौं । सातवटै प्रदेश सरकारले आइतबार सम्बन्धित प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरेका छन् । केही प्रदेशबाहेक अधिकांश प्रदेशले आकर्षक नारा र कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् । विनियोजित बजेटभन्दा पनि नारा निकै कर्णप्रिय रहेका छन् ।

प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३. ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५.९ प्रतिशत रहेको छ । वित्तीय व्यवस्थातर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन भएको छ । बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

विनियोजित बजेटअनुसार कृषि , पशुपक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटनका लागि १ अर्ब ६६ करोड, वन तथा वातावरणका लागि १ अर्ब २० करोड बजेट रहेको छ । त्यस्तै, उद्योग वाणिज्य, आपूर्ति क्षेत्रका लागि ४७ करोड, सिँचाइ व्यवस्था तथा नदी नियन्त्रणमा ३ अर्ब २० करोड, शिक्षा क्षेत्रका लागि १ अर्ब २८ करोड, स्वास्थ्यका लागि १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाइका लागि ३ अर्ब, खेलकुदका लागि ४७ करोड ५५ लाख, सडक पुलमा ८ अर्ब, आवास भवन तथा सहरी विकासका लागि ३ अर्ब रहेको छ । प्रदेश १ ले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा अघि सारेको छ ।

त्यस्तै, प्रदेश २ सरकारले ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ । सबैभन्दा बढी २९ करोड रुपैयाँ रकम ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि विनियोजन गरेको छ भने संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री कृषि उत्थानका लागि २० करोड छुुटयाएको छ । 

प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । चालूतर्फ कुल बजेटको ५१.३९ प्रतिशत अर्थात् २४ अर्ब ४६ करोड ८९ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ कुल बजेटको २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४७.९८ प्रतिशत विनियोजन गरेको छ । वित्तीयतर्फ कुल बजेटको ३.६३ प्रतिशत अर्थात ३० करोड रहेको छ ।

प्रदेश ३ सरकारले पनि स्वास्थ्य, सुसंस्कृति र सुखी जनताः समाजवादउन्मुख समृद्ध प्रदेश भन्ने नाराका साथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश समृद्धिको आधार ः श्रम सिर्जना, उत्पादन र रोजगार, निरक्षरतामुक्त प्रदेश तीन, पूर्णसाक्षर भएको उज्यालो दिन, प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय, एक नर्स, प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार, प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश भन्ने नाराका साथ उल्लिखित कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । त्यसैगरी राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, एक स्थानीय तह, एक विशेष उत्पादन, एक नेपाली, एक फलफूल विरुवा रोपण, कृषि व्यवसायमा युवा स्वयमसेवक परीचालन, एक समूह, एक वन उद्यम कार्यक्रम, वातावरण संरक्षण हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा, प्रदेश भ्रमण दशक, पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार, हामी सबै उद्यमी, एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम, प्रदेश सरकारको पहिचान, निःशुल्क कानुनी जनसहायता अभियान, वित्तीय साक्षरताको आधार, बैकिङ प्रणालीमार्फत सबै कारोबार, प्रदेश सरकारको भावनाः जिम्मेवार नागरिकको चाहनालगायतका कार्यक्रम अघि सारेको छ ।

त्यस्तै, गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । जसमध्ये चालूतर्फ १२ अर्ब ३८ करोड ५७ लाख ७२ हजार पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमा पुँजीगततर्फ विनियोजित रकम करिब ६२ प्रतिशत र चालू खर्चतर्फ ३८ प्रतिशत रहेको छ । 

प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । गत वर्षभन्दा झण्डै ८ अर्बले बढी हो । चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पुँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख ५७ लाख रुपैयाँ रहेको छ । गरौं व्यावसायिक कृषि, यसैबाट सुरु हुन्छ प्रदेशको समृद्धि, कृषिकर्मी रोजगार कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, युवाको पौरख, प्रदेशको गौरव, पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम, चक्लाबन्दीसहितको नमुना फार्म स्थापना, एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम, खेलकुदमा युवा सहभागिता, प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता, हाम्रो भाषा, हाम्रो संस्कृति, समुन्नत बनाएर गरौं उन्नति, समृद्ध प्रदेश सुखी जनतालगायत आकर्षक र महŒवाकांक्षी कार्यक्रममा बजेट विनियोजन गरेको छ । 

गण्डकी प्रदेशले एक घर, एक धारा, गण्डकी प्रदेश,  उज्यालो प्रदेश, उपशहर अर्थात् स्याटेलाइट सिटी, हाउस पुलिङ र ल्याण्ड पुलिङ, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ, एक सहकारी एक नमुना उत्पादन, एक स्थानीय तह, एक औद्योगिक ग्राम, हाइटेक वन नर्सरी, हाइवे मोवाइल अस्पताल, एक स्थानीय तह, एक खेल मैदान कार्यक्रम अघि सारेको छ । त्यस्तै, बहुसांस्कृतिक ग्राम निर्माणलगायत कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ । 

कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेस गरेको हो । चालू खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजस्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालू बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ । यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र ससर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । कर्णाली प्रदेशले ६.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । चालू आवमा ५.७ प्रतिशतको वृद्धिदर रहने संशोधित अनुमान रहेको छ । 

कर्णाली प्रदेशले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै प्रदेश सरकारको समृद्ध कर्णाली, सुखी कर्णालीवासी भन्ने दीर्घकालीन सोच अघिसारेको छ । त्यस्तै, आफ्नो प्रदेश आफैं बनाऊ, शिक्षा, स्वास्थ्य, उत्पादन रोगजारः यसका लागि पूर्वाधार, खाना, नाना र छानालगायत आकर्षण नारासहित बजेट विनियोजन गरेको छ । त्यस्तै, एक निर्वाचन क्षेत्र, एक सडकअन्तर्र्गत चालू आवमा स्वीकृत भएका भएका प्रदेश महŒवका २४ वटा सडकलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउने भएको छ । जसका लागि १ अर्ब २९ करोड विनियोजन गरेको छ । त्यस्तै, एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत २४ करोड विनियोजन गरेको छ । कर्णालीको पानीः सबैको लगानी कार्यक्रम, उज्यालो कर्णाली, ग्रामीण विद्युतीकरण, एक घर, एक धारा, विद्यालय र स्वास्थ संस्थामा खानेपानी सुविधा, सुरक्षित आवास कार्यक्रम, एकीकृत सहरी विकास कार्यक्रम, छोरी बुहारी छात्रवृत्ति, सेवा सर्त छात्रवृृत्ति कार्यक्रम, एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसन सेवा, घुम्ती अस्पताल, मुख्यमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य र मनोरञ्जनका लागि खेल, मनमोहन सामाजिक सुरक्षा कार्यक्रम, छोरी बुहारी मूलप्रवाहीकरण कार्यक्रम, बैंक खाता छोरीको सुरक्षा जीवनभरीको, कर्णाली सांस्कृतिक कला केन्द्र र कर्णाली देउडा डबली स्थापना, शान्ति केन्द्र स्थापना, प्रदेश सरकार गरिब किसानका साथमा, सामुदायिक बिउ बैंक, एक स्थानीय तहः एक कृृषि वन, समृद्ध कर्णालीका लागि सहकारी अभियान, समृद्ध कर्णालीको आधारः पर्यटन विकास र पूर्वाधार, विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली, एक भोट, एक बोट, प्राकृतिक जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम, हाम्मा कुडा, हाम्मा मुख्यमन्त्रीलगायत महŒवाकांक्षी योजना अघिसारेको छ । 

सुदूरपश्चिम प्रदेशले २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको छ ।  चालूतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।  त्यस्तै, प्रदेश ५ ले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालू आर्थिक वर्षभन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको  हो । उक्त प्रदेशले नमुना कृषि गाउँ, आफैं बनाऊ, मुख्यमन्त्री  एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम, एक स्थानीय तह, एक औद्योगिक उत्पादन, सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊलगायत कार्यक्रम अघि सारेको छ ।




Views: 80