19th October | 2019 | Saturday | 8:05:50 AM

नक्कली कारोबारमा ७ सय कम्पनीमाथि अनुसन्धान

लेखनाथ पोखरेल   POSTED ON : असार ३, २०७६ (१०:५६ AM)

नक्कली कारोबारमा ७ सय कम्पनीमाथि अनुसन्धान

काठमाडौं । राजस्व अनुसन्धान विभागले ७ सयभन्दा बढी व्यावसायिक फर्ममाथि अनुसन्धान अघि बढाएको छ । केही कम्पनीले नक्कली बिल बुझाएर राजस्व छलेको फेला परेपछि विभागले अनुसन्धान अघि बढाएको हो । ८० वटा फर्मबाट नक्कली बिल लिएर ७ सयभन्दा बढी फर्म तथा कम्पनीले कर छलिरहेको फेला परेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् । त्यस्ता फर्महरूले नक्कली बिल प्रयोग गरेर साढे ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलेको विभागको प्रारम्भिक अनुमान छ । अनुसन्धानका क्रममा ८ वटा फर्मले ३ अर्बको नक्कली बिल जारी गरी भन्सारसमेत छलेको फेला परेको उनले जानकारी दिए । 

एक महिनाभित्रै त्यस्ता ५६ वटाभन्दा बढी फर्ममाथि अनुसन्धान  गरेर मुद्दा दायर गर्ने मैनालीले बताए । विभागले जेठभित्र १८ अर्ब ३२ करोड रुपैयाँ बिगो दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । विभागले ८१ वटा कसुरमा २३८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, विदेशी मुद्रा अपचलन तथा हुण्डी कारोबारको आरोपमा १०४ जनाविरुद्ध ४ अर्ब ११ करोड रुपैंयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।  सो अवधिमा ६६ केजी ४ सय ग्राम सुन बरामद गरिएको पनि महानिर्देशक मैनालीले जानकारी दिए । 

विभागका अनुसार नेपालमा आयात निर्यातका लागि वैध मानिएको वस्तु विदेशबाट आयात गर्न एलसी खोल्ने र उक्त सामानको सट्टामा अन्य सामान तेस्रो मुलुकबाट ल्याउने गरेको फेला परेको छ । अवैध तथा महँगो रहेको सामान तेस्रो मुलुकबाट आयात गरी भारतमा ल्याएर बिक्री गर्ने र नेपालबाट जुन सामानको एलसी खोलिएको हो, सोही सामान भारतमा लगेर बिक्री गर्ने गरेको भेटिएको छ ।


Views: 94