19th October | 2019 | Saturday | 8:38:23 AM

८ महिनामै बजेट खर्च गरिसक्ने मुख्यमन्त्रीको दाबी

चन्द्रकान्त खनाल   POSTED ON : असार ३, २०७६ (११:१९ AM)

८ महिनामै बजेट खर्च गरिसक्ने मुख्यमन्त्रीको दाबी

चन्द्रकान्त खनाल

रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका छन् । प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटका सम्बन्धमा सोमबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको कार्यभार समालेका मुख्यमन्त्री पोखरेलले चालू आर्थिक वर्षमा कर्मचारी अभावले समयमा बजेट कार्यान्वयन हुन नसके पनि आगामी आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयन हुने बताए ।

चालू आवको बजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानमध्ये डेढ अर्बभन्दा बढी बजेट खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरिसक्ने दाबीसमेत गरे । उनले बजेटले प्राथमिकता दिएअनुसार कृषिको व्यावसायीकरण गर्दै जाने, युवालाई कृषिमा आकर्षित गर्ने, पर्यटकीय गन्तव्यकोे विकास गर्दै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पु¥याउने बताए । मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेको भन्दै अब  प्रदेशमा विकेन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ, काठमाडौं केन्द्रित अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई प्रदेशमा विकेन्द्रित गर्नुपर्ने अवस्था आइसक्यो । 

प्रदेश–५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको तर कुल गार्हस्थ उत्पादनका हिसाबले अन्य प्रदेशभन्दा अगाडि रहेको उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्ष कुल गार्हस्थ उत्पादन ८ प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरिएको र  पूरा गरेरै छाड्ने दाबी पनि गरे ।

उनले प्रतिपक्षबाट आएको बजेटको टीका टिप्पणीलाई प्रतिपक्षी धर्म निर्वाहको संज्ञा  दिएका छन् । कृषि सडक र पर्यटकीय गन्तव्यमा सहज आवागमनका लागि पाल्पाको रानीमहल र बर्दियाको ठाकुरद्वारा सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको उनले बताए ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा राजीनामा 

प्रदेश–५ का योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भए पनि बजेट सार्वजनिक गर्नुअघि गोप्य राखिएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैंक नै फर्कने भएपछि  आयोगबाट राजीनामा दिएका हुन् ।


Views: 101