19th October | 2019 | Saturday | 9:00:28 AM

विषादी परीक्षण रोकिएकोमा आपत्ति

हिमालय टाइम्स   POSTED ON : असार २३, २०७६ (९:२२ AM)

विषादी परीक्षण रोकिएकोमा आपत्ति

काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएकोमा नेपाल नेपाल भेटेरिनरी एसोसिएसनले आपत्ति जनाएको छ । आयातित तरकारी र फलफूलको भन्सार विन्दुमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै एसोसिएसनले आपत्ति जनाएको छ । एसोसिएसनले जनस्वास्थ्य संरक्षण, स्वच्छ व्यापार र स्थानीय कृषि उपजको प्रवद्र्धनमा सहयोग पुग्ने महŒवपूर्ण निर्णयबाट सरकार पछि हट्नु आपत्तिजनक भएको भन्दै जतिसक्दो चाँडो आवश्यक तयारी पूरा गरी पूर्वनिर्णय कार्यान्वयन गर्न माग गरेको छ । एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । 

भन्सार विन्दुमा जीवनाशक विषादी परीक्षणको व्यवस्थाबाट अधिक मात्रामा विषादी अवशेष रहेका ताजा तरकारी तथा फलफूल आयात निरुत्साहित हुने, स्वदेशी किसान विषादी प्रयोग कम गर्न प्रेरित हुने विज्ञप्तिमा उल्लेख छ । विश्व व्यापार संगठनका प्रावधानअनुरूप सेनिटरी एण्ड फाइटोसेनिटरी एग्रिमेन्ट कार्यान्वयनका लागिसमेत उक्त निर्णयले सघाउ पु¥याएको भन्दै विषादी परिक्षणबाट नेपाली किसानलाई कृषि उत्पादन अभिवृद्धि गर्न र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने जनाएको छ । निर्णय कार्यान्वयनका लागि सीमा क्षेत्रका क्वारेन्टाइन कार्यालय तथा चेकपोष्टको संस्थागत क्षमता अभिवृद्धि गरी कडाइका साथ नियमन गर्नुपर्नेमा पनि एसोसिएसनले जोड दिएको छ । विषादी परीक्षणका लागि आवश्यक पूर्वाधार नभएको भन्दै सरकारले आयातित तरकारीमा विषादी परीक्षणको निर्णय फिर्ता लिएको थियो ।


Views: 115