19th October | 2019 | Saturday | 7:26:46 AM

१७ वाणिज्य बैंकद्वारा मर्जर प्रस्ताव

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७६ (१०:३५ AM)

१७ वाणिज्य बैंकद्वारा मर्जर प्रस्ताव

काठमाडौं । विभिन्न १७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाएका छन् । सोमबारसम्म १७ वाणिज्य बैंकले राष्ट्र बैंकसमक्ष लिखितरूपमा मर्जरको प्रतिवद्धता बुझाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलका अनुसार सोमबारसम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धतासहित राष्ट्र बैंकलाईपत्र बुझाएका हुन् । राष्ट्र बैंकमापत्र बुझाउने १७ वाणिज्य बैंकमा एनएमबी, सनराइज, सिटिजन, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ«, सेञ्चुरी, नेपाल एसबिआई, ग्लोबल आइएमई, जनता, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, मेगा र कुमारी बैंक रहेका छन् । सरकारी तीनसहित अन्य ११ बैंकले भने पत्र बुझाएका छैनन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष तथा सञ्चालकलाई मौद्रिक नीतिअघि मर्जरको लिखित प्रस्ताव पेस गर्न निर्देशन दिएका थिए ।

दबाबपूर्ण मर्जरप्रति बैंकर असन्तुष्ट

बैंक तथा वित्तीय संस्थालाई दबाबमूलक मर्जरमा लैजाने राष्ट्र बैंकको निर्णयप्रति बैंकरले असन्तुष्टि जनाएका छन् । नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बलपूर्वक मर्जरमा नलैजान सुुझाव दिएका छन् । मर्जरमै जानुपर्ने भएमा राष्ट्र बैंकले प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने उनले बताए । नेपाल राष्ट्र बैंकद्वारा सोमबार आयोजित मौद्रिक नीतिसम्बन्धी छलफल उनले यस्तो बताएका हुन् । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने मर्जरले बैंकलाई सुदृढीकरण गर्ने बताए । 

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले पनि बैंकलाई बलपूर्वक मर्जरमा लान नहुने बताए । मर्जर विवाह भन्दा पनि संवेदनशील भएकोले यस्तो संवेदनशील विषयलाई बलपूर्वक मर्जरमा लैजानु नहुने उनको सुझाव थियो । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मर्जर स्वतफूर्त हुुनुपर्ने बताए भने नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले सहुलियत दिए लघुवित्तलाई पनि मर्जर गरेर ५० वटामा झार्न सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकरलाई उद्योग तथा व्यापारमा लगानी गर्न पूर्णरुपमा बन्देज लगाउनुपर्ने बताए । बैंकर र उद्योगी तथा व्यपारी एउटै व्यक्ति हुँदा कर्जा प्रवाहमा कार्टेलिङ भएको उनको भनाइ थियो । उनले भने, ‘अहिले बैंकका लगानीकर्ताबीच एक आपसमा एकअर्का बैंकबाट ठूला कर्जा लिने क्रम बढेको छ, जसले गर्दा वास्तविक उद्योगीहरूले बैंकबाट कर्जा पाउन सकेका छैनन् ।

महासंघ अध्यक्ष भवानी राणाले निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर अर्थात् स्प्रेडदर ३ प्रतिशतमा झार्न सुझाव दिइन् । हाल बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर अन्तर साढे चार प्रतिशतसम्म राख्न पाउने व्यवस्था रहेको छ । तर बैकर्स संघका अध्यक्ष ढुंगानाले भने वित्तीय बजारमा लगानीयोग्य पुँजी नहुँदा यसको चाप ब्याजदर परेको स्पष्टीकरण दिए । चेम्बरका उपाध्यक्ष अग्रवालले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशतमा राख्नुपर्ने बताए । कर्जामा कार्टेलिङ गर्दै आएका बैंकलाई ब्याज सस्तो बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो । 

नेपाल राष्ट बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले भने बैंक तथा वित्तीय संस्थाको बढ्दो उच्च लागतका कारण मर्जरमा जानुपरेको भन्दै प्रविधिमा दिनप्रतिदिन लगानी बढ्दै गएको बताए । उनले भने, ‘सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन् ।’ सबल र बलियो बैंक बनाउन मर्जर आवश्यकता भएको उनको भनाइ थियो । नियामक निकायले लिएको नीतिलाई सबैपक्षबाट सहयोग गर्न उनले आग्रहसमेत गरे ।


Views: 153