19th October | 2019 | Saturday | 8:12:49 AM

अलैँची प्रवद्र्धनका लागि त्रिदेशीय सहकार्यमा जोड

हिमालय टाइम्स   POSTED ON : असार २६, २०७६ (९:४४ AM)

अलैँची प्रवद्र्धनका लागि त्रिदेशीय सहकार्यमा जोड

काठमाडौं । अलैँचीको बढ्दो मागसँगै अन्य मुलुकहरूमा पनि व्यावसायिक रूपमा यसको खेती हुन थालेपछि नेपालको अलैँचीको बजार खस्किएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले नेपाल, भारत र भुटानको साझेदारी र सहकार्यबाट अलैँचीको बजार प्रवद्र्धन हुनुपर्ने बताएका छन् ।

विश्व बैंक समूहको सहयोगमा बुधबार काठमाडांैमा आयोजित महिला उद्यमशीलताको माध्यमबाट दक्षिण एशियामा अलैँचीको मूल्य शृंखला विकासका सम्भावना विषयक बहुसरोकार गोलमेच बैठकमा उनीहरूले यस्तो बताएका हुन् । 

विगतमा अलैँची नेपाल, भारत र भूटानका हिमाली क्षेत्रमा मात्र उत्पादन हुँदै आएकोमा पछिल्लो समय चीन, ग्वाटेमाला र भियतनाममासमेत व्यावसायिक रूपमा खेती हुन थालेको उनीहरूको भनाइ थियो । कम मूल्यमा पाइने गुणस्तरहीन अलैँचीका कारण प्रतिकूल असर परेकाले त्रिदेशीय साझेदारी अपरिहार्य रहेको उनीहरूले बताए ।

नेपालबाट भारत निर्यात हुने ९८ प्रतिशत अलैँची त्यहाँबाट विश्वबजारमा पुनः निर्यात हुने वास्तविकतालाई दृष्टिगत गरी भारतबाहेकका देशमा सोझै निर्यात गर्नेतर्फ नेपाल सरकारले ध्यान दिनुपनेमा उनीहरूले जोड दिए । ताप्लेजुङका सांसद योगेश भट्टराईले अलैँची किसानका समस्या समाधान गर्दै साना तथा घरेलु उद्योगको मेरुदण्डका रूपमा रहेको अलैँची खेतीलाई प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाए । 

प्रदेश र केन्द्र सरकारका तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता जनाउँदै उनले व्यापार सन्तुलन कायम गर्ने बहुपयोगी बाली अलैँचीको अनुसन्धान र विकासका लागि सरकारीस्तबाट सहायता जुटाउन पनि आफू क्रियाशील रहने जानकारी दिए । प्रदेश १ का सांसद टंक आङबुहाङले अलैँची उत्पादन, प्रशोधन र बजारीकरणका साथै कृषिउपजको गोदाम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । विश्व बैंकजस्ता संस्थाको सहयोगमा कृषि औजार र मलखादमा अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले आर्थिक गतिविधि विस्तार एवं रोजगारीका अवसर सिर्जना, उच्च आर्थिक वृद्धिदर हासिलमा योगदान, महिला सशक्तीकरण, दिगो विकासका लक्ष्य हासिलमा सहयोग पुग्ने अलैँची उद्यम विकासका निम्ति नीतिगत सुधारमा जोड दिइन् । महिला उद्यमी चाँदनी जोशीले राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने क्षमता भएका महिलालाई चुला चौकामामात्रै सीमित गराउन नहुने बताइन् । 

विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोसले महिलालाई विकासको मूल प्रवाहमा सामेल गर्दै समावेशी विकासको पथमा नेपाललाई सघाउन बैंक प्रतिबद्ध रहेको बताए । नेपालस्थित अष्ट्रेलियाका राजदूत पिटर बडले महिलालाई सामाजिक–आर्थिकरूपमा सबल बनाउन आफ्नो मुलुकले अतिकम विकासित राष्ट्रलाई सघाइरहेको बताए । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले आयात प्रतिस्थापनमा महŒवपूर्ण भूमिका खेल्दै आएको अलैँचीको प्रवद्र्धनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । नेपालबाट विदेशमा निर्यात हुने प्रमुख वस्तुमा अलैँची पर्छ । अलैँची निर्यातले गलैंचा निर्यातलाई कतिपय वर्षमा प्रतिस्पर्धात्मकरूपमा उछिनेको थियो । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ मा ४ अर्ब ६ करोड ६० लाखको अलैँची निर्यात भएको थियो भने २०७१÷७२ मा ५.६ प्रतिशतले ह्रास आई ३ अर्ब ८३ करोड ९८ लाखको मात्रै निर्यात भएको थियो । 

त्यस्तै आव २०७२÷७३ मा २०.२ प्रतिशतले निर्यात वृद्धि भई ४ अर्ब ६१ करोड ४६ लाख अलैँची निर्यात भएको थियो । तर आव २०७३÷७४ मा १५.४ प्रतिशतले ह्रास आइ ३ अर्ब ९० करोड ५० लाखको निर्यात भएको थियो भने आव २०७४÷७५ मा २४.२ प्रतिशतले वृद्धि भई ४ अर्ब ८४ करोड ९१ लाख अलैँची निर्यात भएकमो थियो । २०७४÷७५ मा सबैभन्दा बढी भारतमा ५ हजार ३ सय ९२ मेट्रिक टन अर्थात् ४ अर्ब ८४ करोड १४ लाखको अलैँची निर्यात भएको थिया । चीनतर्फ भने २.६ मेट्रिक टन आयात १७ लाख ५१ हजार अलैँची निर्यात भएको थियो । संयुक्त अरब इमिरेट्समा १ मेट्रिक टन अर्थात् ९ लाख ६० हजारको निर्यात भएको थियो भने जर्मनी र बंगलादेशमा पनि केही निर्यात भएको थियो ।


Views: 140