25th August | 2019 | Sunday | 6:15:11 PM

३८० सांस्कृतिक सम्पदा पुनर्निर्मित

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७६ (८:२६ AM)

३८० सांस्कृतिक सम्पदा पुनर्निर्मित

काठमाडौं । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदामध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्मित सम्पदामध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा रहेका छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् । यी सम्पदाको पुनर्निर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । 

पुनर्निर्माण सम्पन्न सम्पदामा हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक तथा तलेजु मन्दिर मुख्य रहेका छन् । त्यस्तै भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायत मन्दिर रहेका छन् ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहारलगायतको पुनर्निर्माण सकिएको छ । त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । 

ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यस्तै थापाथलीस्थित जंगहीरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकोले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने बताएका छन् । 

पुनर्निर्माण भइरहेका मुख्य सम्पदामा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत रहेका छन् । पुरातात्विक सम्पदाको पुनर्निर्माणमा नेपाल सरकारको स्रोतका साथै चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायतको सहयोग छ । 

भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । तीमध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका रहेका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ सम्पदा रहेको प्राधिकरणले जनाएको छ ।


Views: 79