25th August | 2019 | Sunday | 5:17:14 PM

सिइओको अधिकतम उमेरहद : राष्ट्र बैंकको निर्णयविरुद्ध अन्तरिम आदेश

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७६ (१०:१३ AM)

सिइओको अधिकतम उमेरहद : राष्ट्र बैंकको निर्णयविरुद्ध अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकको अधिकतम उमेरहद तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मंगलबार राष्ट्रले बैंक तथा वित्तीय संस्थाका सिइओ सञ्चालकको अधिकतम उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशिकाको प्रावधान निवेदकको ‘संवैधानिक अधिकार कुण्ठित हुने’ र ‘राष्ट्र बैंकको परिपत्रले निवेदनकको मौलिक हकको प्रचलनमा अवरोध पुग्न गएको प्राथमिक रूपमा देखिन आएकोले’ ठहर गर्दै निवेदकका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । संविधानविपरित भएको ठहर गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने व्यवस्था राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा नभएको सर्वोच्चले आफ्नो आदेशमा उल्लेख गरिएको छ । सर्वोच्चले कानूनमा न्यूनतम उमेरहदमात्रै उल्लेख भएको हुँदा अधिकतम उमेरहद तोक्ने राष्ट्र बैंकको व्यवस्था नेपालको संविधानको धारा १७ को २ को नेपाली नागरिकलाई पेशा रोजगार गर्ने संवैधानिक हक कुण्ठित बनाएको उल्लेख गरिएको छ । 

सर्वोच्चले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशनसमेत दिएको छ । 

सर्वोच्चको आदेशमा भनिएको छ– बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा २९ मा कार्यकारी सिइओको नियुक्ती र सेवा शर्तसम्बन्धी कानुनी व्यवस्था गरेको र सो कानुनी व्यवस्थामा योग्यता निर्धारण गर्दा अन्य कुराका अतिरिक्त उमेरहदका सम्बन्धमा दफा १८ को उपदफा १ बमोजिम २५ वर्ष पूरा भएको हुनुपर्ने भी न्यूनतम उमेरहद निर्धारण भएको भएता पनि अधिकतम उमेरहदका सम्बन्धमा विधायिकी काननुले सीमा निर्धारण वा रोक लगाएको अवस्था देखिएन । 

राष्ट्र बैंकले सिइओ ७० वर्ष लागेपछि पदमा बहाल नरहने व्यवस्था गरी बैंकहरूलाई परिपत्र गरेको थियो । राष्ट्र बैंकले गत असार २० गते यस्तो परिपत्र जारी गरेको थियो । 

राष्ट्र बैंकको निर्णय विरुद्ध प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले साउन २२ गते सर्वोच्च रिट दायर गरेका थिए । सर्वोच्चको अन्तरिम आदेशसँगै अन्तिम निर्णय नहुँदासम्म मानन्धरले प्राइम बैंकको सीइओ भएर काम काम गर्ने बाटो खुलेको छ । 


Views: 84