25th August | 2019 | Sunday | 5:40:22 PM

विद्युत् प्राधिकरणको मुनाफा ७ अर्ब

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७६ (१०:३७ AM)

विद्युत् प्राधिकरणको मुनाफा ७ अर्ब

काठमाडौं । विगत लामो समयदेखि घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले एकै वर्षमा १ सय ४९ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । 

प्राधिकरण अघिल्लो आव अर्थात् २०७४÷७५ मा दुई अर्ब ९० करोड मात्रै मुनाफामा थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विगतका वर्षभन्दा गत वर्ष विद्युत् उत्पादन, वितरण खपतमा वृद्धि भएकाले मुनाफा पनि बढ्न गएको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा करिब २६ प्रतिशतमा रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०७५÷७६ मा १५ दशमलव ३२ प्रतिशतमा सीमित भएको बताए । 

तीन वर्षभित्र १० दशमलव ४६ प्रतिशतले विद्युत् चुहावट नियन्त्रण भएको पनि उनले जानकारी दिए । अघिल्लो आवमा विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत र २०७२÷७३ मा २५ दशमलव ७८ प्रतिशत चुहावट रहेको थियो । घिसिङले चुहावट नियन्त्रणमा प्राधिकारण झण्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगेको दाबीसमेत गरे । उनका अनुसार दक्षिण एसियाली मुलुकमा करिब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ ।

प्र्राधिकारणले गत आवमा सावाँ १ अर्ब र विगतका वर्षको ब्याजसमेत गरेर १३ अर्ब १६ करोड र रोयल्टीवापत १ अर्ब ४४ करोड गरी कुल १५ अर्ब ५९ करोड सरकारलाई भुक्तानी गरिएको जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६ मा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड विद्युत् निर्यात गरेको छ भने २३ अर्ब ३ करोडको आयात गरेको छ । 

कुल विद्युत् उपलब्धता ७ अर्ब ५५ करोड युनिटमध्ये प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको छ । विद्युत् खरिदतर्फ निजी उत्पादकबाट १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रहेको छ । प्राधिकरणका अनुसार गत आवमा ७ सय ५७ सर्किट किमी लाइन सम्पन्न गरी ६ सय ६ सर्किट किमी चार्ज भएको, वितरण लाइनतर्फ ९ हजार ७ सय २२ सर्किट किमी लाइन निर्माण सम्पन्न भई चार्ज भएको छ । गत वर्षमै प्रसारण र वितरण गरी ४० वटा सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरी करिब ९ सय २० एमभिए क्षमता वितरण प्रणालीमा थप भएको छ ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालको ऊर्जा क्षेत्रमा तीन÷चार वर्ष अगाडिको स्थिति र हालको स्थिति धेरै परिर्वतन भएको बताए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्का अरू रूपहरू पनि स्थापना गरी सकेसम्म आम नागरिक विद्युत्को पहुँचमा पु¥याउने बताए । गत वर्षसम्म राष्ट्रिय प्रसारणमा आबद्ध भई विद्युत्् उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । 

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । हाल ४५ लाख घरधुरी ग्रीडमा जोडिएका छन् । मन्त्री पुनले उत्पादनसँगै वितरण प्रणाली सुधार अबको लक्ष्य भएको बताएका छन् । नेपालमा खपत भएर बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्ने आधारका रूपमा नेपाल, भारत र बंगलादेश जोड्ने गरी त्रिदेशीय डेडिकेटेड लाइन निर्माण गरिने उनले बताए ।

गत आवमा रुग्ण अवस्थामा रहेका ३८ आयोजनाको निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ आयोजना गत आवमा सम्पन्न भएका हुन् । ६० मेगावाटको त्रिशूली ३ ‘ए’ तथा काबेली करिडोरलगायत ३८ रग्ण आयोजना सम्पन्न भएका छन् भने १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया गरिएको उनले बताए । 

त्यस्तै, प्राधिकरणले देशभर रहेका थ्री फेज मिटर तथा टिओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम सुरु गरिएको जनाएको छ । काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्ने काम सुरु भइसकेको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए ।


Views: 85