15th September | 2019 | Sunday | 8:40:58 PM

आजदेखि पाइपलाइनबाट पेट्रोलियम : ओली र मोदीले संयुक्त उद्घाटन गर्ने

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७६ (९:५८ AM)

आजदेखि पाइपलाइनबाट पेट्रोलियम : ओली र मोदीले संयुक्त उद्घाटन गर्ने

काठमाडौं । बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा स्विच थिची पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमले जनाएको छ । निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार मंगलबार बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ र १२ देखि १२ः३० भित्र उद्घाटन हुनेछ । 

संयुक्त उद्घाटनकै क्रममा उद्घाटनको शिलालेख खुल्ने उनले हिमालय टाइम्सलाई बताए । उद्घाटनलगत्तै भारतको बरौनी डिपोबाट पाइपलाइनमार्फत डिजेल आउन सुरु हुनेछ । अमलेखगञ्जसम्म डिजल आइपुग्न करिब १८ घण्टा लाग्नेछ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम आपूर्ति हुने निगमले जनाएको छ ।

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए । सुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र १ हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । नेपाल भारत संयुक्त लगानीमा निर्मित पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटर रहेको छ । भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर छ । 

निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण क्षमताको ट्यांकी निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनसँगै ढुवानीबापतको वार्षिक दुई अर्ब बचत हुनुको साथै ट्राफिक जाम, दुर्घटना, चोरी र चुहावट लगायतका समस्या समाधान हुने निगमले अपेक्षा गरेको छ । अब भारतबाट पेट्रोलियम ल्याउन ट्यांकर चलाउनु पर्नेछैन । 


Views: 47