15th September | 2019 | Sunday | 8:17:57 PM

काठमाडौंमा विद्युतीय वस सेवा सुरु, लामो रुटमा पनि सञ्चालन तयारी

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७६ (१०:०७ AM)

काठमाडौंमा विद्युतीय वस सेवा सुरु, लामो रुटमा पनि सञ्चालन तयारी

काठमाडौं । अन्ततः लामो प्रतीक्षापछि विद्युतीय विद्युतीय बस सोमबारदेखि सञ्चालनमा आएको छ । सुन्दर यातायात प्रालिले चीनबाट ल्याएका ४ वटा विद्युतीय बस व्यवसायिक रूपमा सञ्चालन सुरु गरेको छ । सरकारसँगको सहकार्यमा साझा यातायाताले पनि विद्युतीय वस सञ्चालनको तयारी गरेको थियो तर विद्युतीय बस सञ्चालनमा साझालाई निजी क्षेत्रले उछिनेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा विद्युतीय बसको शुभारम्भ गरेका थिए । हाल चक्रपथका साथै काठमाडौंका भित्री रुटमासमेत विद्युतीय वस सञ्चालन हुने सुन्दर यातायातले जनाएको छ ।

सरकारको विद्युतीय सवारी साधनको प्रयोगलाई उच्च प्राथमिकता दिने नीतिसँगै सुन्दर यातायातले डेढ वर्षदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनको तयारी गरेको थियो । तर दर्ता, रुट व्यवस्थापन, चार्जिङ स्टेशन, विद्युत् लाइनको प्राप्ति लगायतका पूर्वाधारको अभावमा बस सञ्चालन हुन सकेका थिएनन् । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले चौतर्फी चुनौतीबीच पनि आफूले हरेश नखाएको बताए । नीतिगत समस्या देखाउँदै सम्बन्धित निकायले विद्युतीय दर्ताका लागि असहयोग गरेको उनको गुनासो छ । 

काठमाडौंबाट सेवा सुरु गरेको सुन्दर यातायातले प्रदेश १ र प्रदेश ५ मा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । बुटबलदेखि विराटनगर हुँदै झापासम्म सञ्चालन हुनेगरी विद्युतीय बस सञ्चालन तयारी भइरहेको थापाले जानकारी दिए । जसका लागि बुटवलमा चार्जिङ स्टेशन निर्माण भइसकेको छ । थापाका अनुसार काठमाडौंमा रहेको ७ वटा बसमध्ये ४ वटा सञ्चालन भएका छन् भने ११ वटा चीनबाट कोलकत्ता बन्दरगाहमा आइपुगेका छन् । विद्युत्तीय वस सञ्चालनका लागि सुन्दर यातायातले ११ करोड लगानी गरेका छ भने चिनियाँ कम्पनीले कुल भुक्तानीको ७० प्रतिशतसम्म क्रेडिट सुविधा दिएको छ । १८ वटा लागि करिब १८ करोड रुपैयाँ लगानी भएको उनले बताए । सरकारले हाल विद्युतीय सवारीका लागि भाडादर निर्धारण नगरेकोले तत्कालका लागि अन्य सवारीकै भाडादर कायम हुने सुन्दर यातायातले जनाएको छ । तथापि सुन्दरले २० प्रतिशत छुट दिने भएको छ । 

यसैबीच, नेपाल राष्ट्र बैंकले विद्युतीय बस र चार्जिङ स्टेशनलाई पनि प्राथमिकता प्राप्त कर्जाको सूचीमा राखेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन परिमार्जन गरी विद्युत्बाट चल्ने बस र चार्जिङ स्टेशनलाई प्राथमिकता प्राप्त कर्जामा राखेको हो । केन्द्रीय बैंकले पर्यटन, जलविद्युत्, प्रसारणलाइन, निर्यातजन्य उद्योग, औषधि उद्योग, घरेलु तथा साना उद्योग, कृषि, रड, गार्मेन्ट र सिमेन्ट उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेको छ ।


Views: 55