15th September | 2019 | Sunday | 8:39:11 PM

चालु भयो पाइपलाइन : दैनिक २५ सय किलोलिटर पेट्रोलियम

हिमालय टाइम्स   POSTED ON : भदौ २५, २०७६ (९:३९ AM)

चालु भयो पाइपलाइन : दैनिक २५ सय किलोलिटर पेट्रोलियम

काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७० किलोमिटर लामो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार्यालयमा स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् । उनीहरूले भिडियो कन्फ्रेन्समार्फत सम्बोधनसमेत गरेका थिए । उद्घाटनपछि दुवै प्रधानमन्त्रीले मन्तव्य प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए । भिडियो कन्फ्रेन्समार्फत भएको पाइपलाइन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत सरकारको सहयोगमा अन्य आयोजनाहरू पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । 

भारतीय प्रधानमन्त्री मोदीले तोकिएको समयअघि नै पाइपलाइन निर्माण भएको बताए । यसमा दुवै देशको नेतृत्व सफल भएको बताए । तीस महिनामा सक्ने लक्ष्य राखिएको परियोजना करिब डेढ वर्षमै सम्पन्न भएको हो । मोदीले भने, ‘दक्षिण एसियाकै पहिलो क्रस ब्रोडर पेट्रोलियम पाइपलाइन निर्माणमा रेकर्ड ब्रेक भएको छ, यसको श्रेय नेपाललाई र सँगै हाम्रो नेतृत्वलाई दिन चाहन्छु । पाइपलाइन निर्माणसँगै नेपाली जनताले तत्कालै राहत पनि पाएका छन्, त्यसबाट मलाई पनि गौरवान्वित बनाएको छ ।’

मोदीले नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै आफू समय मिलाएर नेपाल आउने बताए । उनले नेपाल र भारतबीच सम्बन्ध बलियो हुँदै गएको र प्रधानमन्त्री ओलीसँग चार पटक भेटेको बताए ।  

सुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र १ हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । नेपाल भारत संयुक्त लगानीमा निर्मित पाइपलाइनको कुल लम्बाइ ६९.०८ किलोमिटरमध्ये नेपालतर्फ ३६.२८ किलोमिटर र भारततर्फ ३२.८ किलोमिटर रहेको छ । 

हाल पाइप लाइनबाट दैनिक २५ सय किलोलिटर डिजेल आपूर्ति गरिने छ । डिजेल र पेट्रोल दुवै पाइप लाइनबाटै आउने भए पनि हाल डिजेल मात्रै आउनेछ । 

निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण क्षमताको ट्यांकी निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनसँगै ढुवानीबापतको वार्षिक दुई अर्ब बचत हुनुको साथै ट्राफिक जाम, दुर्घटना, चोरी र चुहावट लगायतका समस्या समाधान हुने निगमले अपेक्षा गरेको छ । अब भारतबाट पेट्रोलियम ल्याउन ट्यांकर चलाउनु पर्नेछैन । देशभित्र खपत हुने पेटोलियममध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा स्विच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए । 

मूल्य दुई रुपैयाँ घट्यो 

नेपाल आयल निगमले पाइपलाइनको उद्घाटनकै दिन पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो । 

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यसँगै अब पेट्रोल प्रतिलिटर १०७ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर पेट्रोल तथा डिजल र मट्टीतेल क्रमशः १ सय ९ र ९७ रुपैयाँ रहेको थियो । उपभोक्तालाई राहत दिन स्वचालित मूल्य प्रणालीबमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनियमदरको उतारचढावलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 



 


Views: 48