19th October | 2019 | Saturday | 9:20:12 PM

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण निःशुल्क

हिमालय टाइम्स   POSTED ON : आश्विन २, २०७६ (१०:१० AM)

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण निःशुल्क

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण तिर्नु नपर्ने भएको छ । नेपालस्थित मलेसियन दूतावासले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । नेपालमा कामदारले स्वास्थ्य परीक्षणबापत भुक्तानी गरेको रकम मलेसियामा काम गर्दाको पहिलो महिनाको तलबसँगै फिर्ता गरिने दूतावासले जनाएको छ । दुई देशबीचको श्रम सम्झौताअनुसार शून्य लागतमा रोजगार प्रदान गर्ने सहमति भएको थियो । तर, पछिल्लो समय मलेसिया रोजगारका लागि जाने कामदारको स्वास्थ्य परीक्षणबापत शुल्क वृद्धि भएसँगै दुतावासले स्वास्थ्य परीक्षणको बारेमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजदेखि ३६ वटा स्वास्थ्य संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । सरकारले बनाएको नीतिअन्तर्गत लाग्ने शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २ हजार ८ सय र भ्याट ३ सय ६४ रुपैयाँ गरी जम्मा ७ हजार ६ सय ६४ रुपैयाँ सम्बन्धित मेडिकल सेन्टरमा कामदारले तिर्नुपर्ने व्यवस्था रहेको छ । सो रकम मलेसिया गएर काम गरेको पहिलो तलवसँगै रोजगारदाताले फिर्ता गर्ने व्यवस्था गरिएको छ । 


Views: 84