19th October | 2019 | Saturday | 9:33:34 PM

क्यानको बजेट ४७ अर्ब, बन्द भएका विमान कम्पनी २ अर्ब बक्यौता

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७६ (९:४३ AM)

क्यानको बजेट ४७ अर्ब, बन्द भएका विमान कम्पनी २ अर्ब बक्यौता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्ष २०७६÷ ०७७ का लागि झण्डै ४७ अर्ब अर्थात् ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । क्यानले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । क्यानले  बिहीबार पत्रकार सम्मेलन गरी बजेट तथा आगामी कार्यक्रमबारे जानकारी दिएको हो । विमानस्थलबाट कुल ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आम्दानी हुने क्यानको अनुमान छ । त्यस्तै, नेपाल सरकारबाट रकम राष्ट्रिय गौरवका विमानस्थल आयोजनामा खर्च हुनेछ । गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थलका लागि २२ अर्ब ७३ करोड छुटयाएको छ । त्रिभुवन विमानस्थलको स्तरोन्नती र व्यवस्थापनका लागि ६ अर्ब ३९ करोड विनियोजन गरिएको छ । आन्तरिक विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि ३ अर्ब १६ करोड विनियोजन गरिएको छ । हाल देशभर ५० विमानस्थल रहेको ३२ वटा मात्रै संचालनमा रहेको पनि क्यानका महानिर्देशक राजन पोखरेलले बताएका छन् । देशका १३ वटा विमानस्थल नाफामा रहेका छन्  । प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार हाल देशभर ५० वटा विमानस्थल रहेको ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । अन्य विमानस्थल यात्रु अभावका कारण बन्द भएको पनि पोखरेलले बताए । हाल देशभर सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, नेपालगंज,  पोखरा, विराटनगर, सिमरा, चन्द्रगढी, जनकपुर, भरतपुर ,जोमसोम, धनगढी, सिमिकोट र तेन्जिङ हिलारी विमानस्थल नाफामा रहेका छन् ।

क्यानमा पुँजीगत खर्च, कार्य संचालन खर्च, सरकारको ऋण, साँवा, ब्याज भुक्तानी, सरकारको लाभांश भुक्तानी, कर्मचारीको बोनस, स्थिर सम्पत्ति प्रतिस्थापन, आयकर भुक्तानी, मूल्य अभिवृद्धि कर भुक्तानी लगायतमा बढी खर्च हुने गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक भौतिक पूर्वाधार विकास गरी सेवा प्रवाहमा थप गुणस्तरीयता कायम गरी बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने, २४ सै घण्टा सञ्चालनयोग्य बनाइने, यात्रुका लागि ट्रान्जिट लाउन्जकोे व्यवस्था गर्ने, विमानस्थलको आन्तरिक उडानतर्फ सम्माननीयलाई मात्र सवारीसाधनसहित विमाननजिक जान पाउने व्यवस्था गरिने लगायतका कार्यक्रम रहेका छन् । त्यस्तै आन्तरिक विमानस्थलहरुमा भू–उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली लागू गर्दै लैजाने, विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सोहीअनुरूप स्तरोन्नति गर्दै लैजाने, अन्तर प्रदेश हवाई सेवा सञ्चालन तथा विस्तार गर्न वायुसेवा कम्पनीलाई प्रोत्साहन गरिने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्ने, निजगढ विमानस्थल निर्माण प्रक्रियालाई निरन्तरता दिने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ । क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत, पोखराको ४२ प्रतिशत काम सकिएको जनाएको छ ।

यसैबीच, लामो समयदेखि विमानस्थल सेवा शुल्कबापतका बक्यौता भुक्तानी नगर्ने एयरलाइन्ससँग रकम असुलीका लागि क्यानले सार्वजनिक सूचना जारी गर्ने भएको छ । क्यानले लामो सयमदेखि बक्यौता दाखिला नगरेका र बन्द एयरलाइन्स कम्पनीसँग रकम असुलीका लागि कानुनी प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार विभिन्न कम्पनी तथा एयरलाइन्सले तिर्नुपर्ने बक्यौता रकम करिब २ अर्ब रुपैयाँ रहेको छ । मलेसियन निजी हवाई सेवा कम्पनी एयर एसियाको बक्यौता मात्रै झण्डै १९ करोड पुगेको छ भने निकोनको साढे ३ करोड र कस्मिकको ४ करोडभन्दा बढी बक्यौता छ । नेपाल एयरवेज र भारतीय जेट एयरवेजको पनि वक्यौता बाँकी छ भने  विभागको ५४ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।


Views: 71