19th October | 2019 | Saturday | 8:02:54 PM

नागढुंगा–नौबिसे सुरुङमार्ग ४२ महिनामा निर्माण सम्पन्न हुने

हिमालय टाइम्स   POSTED ON : आश्विन ७, २०७६ (१२:०६ PM)

नागढुंगा–नौबिसे सुरुङमार्ग ४२ महिनामा निर्माण सम्पन्न हुने

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङमार्ग निर्माण सम्झौता भएको छ । सुरुङमार्ग निर्माणका लागि सरकार र जापानी कम्पनी हाज्मा–आङदोबीच सोमबार सम्झौता भएको हो । सुरुङ मार्गका लागि ४३ वटा स्वदेशी तथा विदेशी कम्पनीले चासो देखाएकामा ६ वटाले मात्रै आवेदन दिएका थिए ।

२.६ किलोमिटर लामो सुरुङमार्ग निर्माण सुरु भएको ४२ महिनामा सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतापत्रमा उल्लेख छ । कम्पनीले नोभेम्बर अन्तिमदेखि काम सुरु गर्नेछ ।

हाज्मा–आङदो जेभीका बिजनेस म्यानेजर र सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका प्रमुख श्याम खरेलका अनुसार आयोजना निर्माणको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोगअन्तर्गत जाइकासँग ४० वर्षका लागि १६ अर्ब सहुलियत ऋण सम्झौता भइसकेको छ ।

सरकारले जग्गा प्राप्ति र अन्य प्रशासनिक खर्च बेहोर्नुपर्नेछ । करिब १३ अर्ब खर्च लाग्ने सुरुङ मार्गका लागि जाइकाले सन् २०१४ मा सर्भे सुरु गरेको थियो भने सन् २०१५ मा सम्पन्न भएको थियो । नागढुंगा सुरुङको डिजाइनको काम सन् २०१७ अप्रिलमा सुरु भएर सन् २०१८ को अप्रिलमा सकिएको थियो । 

सुरुङ चन्द्रागिरि नगरपालिका र धुनिबेसी गाउँपालिकाको क्षेत्रमा हुनेछ । २ लेनको सुरुङमा प्रत्येक लेन साढे ३ मिटर चौडाइका हुनेछन् । आयोजनाका अनुसार निर्माण सुरु गर्न निर्माणको सम्झौता, आर्थिक स्रोत, आयोजनास्थलको उपलब्धता र मोबिलाइजेसन खर्च आवश्यक हुने भएकोले निर्माण सुरु गर्न केही महिना लाग्ने छ । धादिङ तर्फको जग्गा विवादका कारण निर्माण प्रक्रियामा ढिलाइ भएको थियोे । 

निजगढ विमानस्थलका लागि स्विस कम्पनी छनोट

बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्विट्जरल्याण्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनोट गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको लगानी बोर्डको बैठकले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनोट गरेको जनाइएको छ । सो कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जनाए ।

विमानस्थलको विस्तृत परियोजना प्रस्तावका लागि कम्पनीलाई ४५ दिनको समयावधि दिइएको छ । यो विमानस्थल निर्माणका लागि सात देशका कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्येबाट ज्युरिच एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव (रिक्वेष्ट फर प्रपोजल (आरएफपी) मागिएको बोर्डले जनाएको छ । विस्तृत प्रस्ताव उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा विमानस्थल निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुल आठ हजार हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ ।

तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग हुने विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइएको छ ।


Views: 192