19th October | 2019 | Saturday | 9:18:07 PM

आजदेखि खाद्यले खसीबोका बिक्री गर्ने

लेखनाथ पोखरेल   POSTED ON : आश्विन १३, २०७६ (९:५३ AM)

आजदेखि खाद्यले खसीबोका बिक्री गर्ने

काठमाडौं । दशैँमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराउँदै आएको खाद्य तथा व्यापार कम्पनीले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । आइतबारदेखि खसीबोका आउन थालेकोले सोमबारदेखि मूल्य निर्धारण गरेर बिक्री सुरु गरिने कम्पनीका विभागीय प्रबन्ध श्रीमणीराज खनालले बताएका छन् । उनका अनुसार आइतबार १८० वटा खसीबोका भित्रिएका छन् भने बाँकी खसीबोका र च्याङ्ग्रा मंगलबारसम्म आइसक्नेछन् । कम्पनीले यसपटक ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउँदै छ । २ हजार च्याङ्ग्रा र १ हजार खसीबोका ल्याउने भएको हो । गतवर्षको तुलनामा यसवर्ष काठमाडौंमा खसीबोकाको मासु महँगिएका कारण पनि गतवर्षभन्दा बढी खसीबोका, च्याङ्ग्रा ल्याउने निर्णय भएको खनालले बताएका छन् । बजारमा खसीबोका, च्याङ्ग्राको मासु महँगो भए पनि कम्पनीले बिक्री गर्ने खसीबोका, च्याङ्ग्रा भने उपभोक्तालाई सहुलियत मूल्यमै उपलब्ध गराइने उनले बताए । यसवर्ष पनि बिक्री मूूल्य गतवर्षकै हाराहारीमा हुने पनि उनले स्पष्ट पारेका छन् । सरकारले निर्धारित मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय गरिसकेको छ । कम्पनीले खसीबोकाको बजार मूल्य नियन्त्रणका लागि सीमित संख्यामा भए पनि हरेक वर्ष खसीबोका, च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

गतवर्ष खाद्य संस्थानले दशैँका लागि २ हजार खसीबोका च्याङ्ग्रा ल्याउने बताए पनि १ हजार पनि ल्याउन सकेको थिएन । च्याङ्ग्रा करिब ५ सय र खसीबोका करिब ३ सय मात्रै ल्याएको थियो । तथापि व्यापारीहरूले भारतबाट पर्याप्त मात्रामा खसीबोका आयात गरेका कारण मासुको मूल्य भने अहिलेजस्तो महँगिएको थिएन । भारतबाट यसवर्ष सरकारले भारतबाट खसीबोका आयातमा कडाइ गरेका कारण देखाउँदै केही महिनाअघि देखि व्यापारीले खसीबोकाको मासुको मूल्य बढाएका छन् । व्यापारी प्रतिकेजी मासुको १५ सय रुपैयाँसम्म असुल्ने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । तर, सरकारले भने व्यापारीले विनाकारण मासुको मूल्य बढाएको भन्दै अनुगमन गरी मूल्य नियन्त्रण गरिने बताएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले निरोगिताको प्रमाणपत्रबिना खसीबोका आयातमा प्रतिबन्ध लगाएपछि केही सीमित बिचौलियाबाट भ्रम फैलाउने प्रयास गरेको मन्त्रालयको दाबी छ । कलंकी खसी बजार संघका अध्यक्ष जनकराज खतिवडाले भारतीय खसीबोका आयातमा सरकारले कडाइ गरेका कारण मासु महँगो भएको दाबी गरेका छन् । तर, भारतबाट खसीबोका आयात नभए पनि दशैँमा मासु र मासुजन्य पदार्थको अभाव नहुने सरकारको दाबी छ । मन्त्रालयका अनुसार मुख्य चाड पर्व लक्षित पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछा मासुको अभाव हुने छैन । मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरमा खसीबोकाको औसत माग दैनिक १ हजार ८ सय ४० रहेकोमा २ हजार ३० वटा स्वदेशी बजारबाटै आपूर्ति भइरहेको छ । दशैको ७ दिन र अन्य चार्डको मुख्य दिनसहितको १० दिन काठमाडौं उपत्यकालगायत मुख्य शहरको औसत माग दैनिक ५ हजार पुग्नेछ । मुख्य चाडबाडको १० दिनमा आवश्यक माग ५ हजारमध्य २ हजार ५ सय खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले बताए । काठमाडौं उपत्यकालगायत मुख्य शहरमा दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार हुुन्छ ।

मन्त्रालयको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना २०७६ अनुसार ‘हेफर इन्टरनेशनलसँग आबद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघमार्फत १३ हजार, खसीबोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थानमार्फत २ हजार ५ सय खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्याङ्ग्रा र स्थानीय व्यापारीमार्फत पोखराका लागि ५ हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना रहेको महानिर्देशक शर्माको भनाई छ । काठमाडौं उपत्याका, अन्य ठूला शहर र साना हाटबजारमा दैनिक दुई दुई सयका दरले ६ सय राँगाभैसीको मासु खपत हुने गरेको छ । यो संख्या वार्षिक २ लाख १९ हजार हुन्छ । त्यसमध्ये २ लाख ८ सय राँगाभैँसीको माग नेपालकै उत्पादनले धान्ने देखिएको छ । सरकारले मासुको मूल्य नियन्त्रणका लागि प्रमुख चाड लक्षित पशुपंक्षीजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना अघि सारेको छ । 


Views: 143