19th October | 2019 | Saturday | 8:10:14 PM

टेलिकमको छुटै छुट

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७६ (९:५५ AM)

टेलिकमको छुटै छुट

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा आफ्ना सेवाहरूमा विभिन्न छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी÷एलटिई र अन्य सेवामा अफर ल्याएको हो । रिचार्जमा बोनसबाहेकका अफर असोज १२ देखि नै लागू भएको पनि कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । कम्पनीले पहिलोपटक फोरजी÷एलटिई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसका रूपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहनेछ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । 

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसिए) सेवा निःशुल्क उपलब्ध गराएको छ । प्रिपेड ग्राहकले पनि आगामी छठ कात्तिक १६ गतेसम्म मिस्ड कल अलर्ट (एमसिए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । एमसीएले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरूको अलर्ट दिन्छ । 

त्यसैगरी कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्राप्त हुनेछ । योजनाअन्तर्गत ५० रुपैयाँ, १ सय रुपैयाँ र २ सय रुपैयाको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत, ५ सय र १ हजारको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५० रुपैयाँ, १ सय रुपैयाँ र २ सय रुपैयाको बोनस ३ दिनभित्र र ५ सय र १ हजारको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । 

एमपोसबाट १० रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा १० प्रतिशत र ५ सय वा सो भन्दा बढीको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । 


Views: 142