19th October | 2019 | Saturday | 8:32:42 PM

कृषि प्राविधिक र सरकारबीच ६ बुँदे सहमति

हिमालय टाइम्स   POSTED ON : आश्विन १५, २०७६ (११:२५ AM)

कृषि प्राविधिक र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं । विगत एक सातादेखि आन्दोलनरत कृषि तथा भेटेरनरी प्राविधिक र सरकारबीच मंगलबार ६ बुँदे सहमति भएको छ । पशु, कृषि प्राविधिक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको वार्ता टोलीबीच यस्तो सहमति भएको हो । 

तत्कालका लागि खारेज गरिएको पशु, कृषि प्राविधिक पद पुनस्र्थापना गर्न सिफारिश गर्ने, रोकिएको तलबभत्ता तत्कालै उपलब्ध गराउने र म्याद आगामी असार मसान्तसम्म थप गर्ने सहमति भएको छ । सहमतिपत्रमा एक गाउँ, एक प्राविधिक व्यवस्था गर्न मन्त्रालयले विगतको समीक्षासहित प्रतिवेदन तयार गरी अर्थ मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गर्नेछ ।

हाललाई प्राप्त भएको ३ महिना र दशैँ खर्चवापतको रकमसमेत गरी असोजसम्मका लागि २ हजार ८ सय १३ जना प्राविधिकलाई आवश्यक तलबभत्ता विनियोजन गरी सबै स्थानीय तहमा पठाई तलबभत्ता भुक्तानीका लागि तत्काल मन्त्रालयले सिफारिश गर्ने, असोज महिनापछि बाँकी ९ महिनाका लागि २ हजार ८ सय १३ जना एक गाउँ, एक प्राविधिकलाई तलबभत्ताका लागि आवश्यक पर्ने रकम करिब ७० करोडको व्यवस्थापन गर्न अनिवार्य आवश्यकता महसुस गरी उक्त रकम व्यवस्थापनका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँगको छलफलबाट मन्त्रालयबाट विनियोजित रकम मध्येबाट वा अर्थ मन्त्रालयलबाट थप निकासा माग गर्ने पनि उल्लेख छ । 

त्यसैगरी स्थानीय तहहरूमा एक गाउँ, एक प्राविधिकका लागि आव २०७६÷७७ को बजेट विनियोजनसम्बन्धी तथ्यांक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संकलन गर्ने र हाललाई नजिकिँदै गरेको महान् चाडलाई मध्यनजर गर्दै संघर्षरत नेपाल कृषि तथा भेटरिनरी प्राविधिक हकहित संरक्षण समितिलाई संघर्षका कार्यक्रम फिर्ता लिन अनुरोध गर्ने सहमतिपत्रमा उल्लेख छ ।

वार्तामा आन्दोलनकारीका तर्फबाट मनबहादुर रावल, पाराभेटनरी लाइभस्टकका रामप्रसाद महतो, कृषि प्राविधिक एसोसिएसनका देवराज गौली र सरकारी वार्ता टोलीका तर्फबाट मन्त्रालयका सहसचिव रघुराम विष्ट, वरिष्ठ पशु चिकित्सक डा. बरुणकुमार शर्मा, वरिष्ठ कृिष अर्थ विज्ञ लालकुमार श्रेष्ठ, बाली संरक्षण अधिकृत सुरेन्द्र सुवेदी, मन्त्रालयकै शाखा अधिकृत नवराज गौतम, पशु विकास अधिकृत अर्जुन पौडेलको सहभागिता थियो । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको विशेष पहलमा सोमबारदेखि वार्ता सुरु भएको थियो । 


Views: 115