18th November | 2019 | Monday | 9:33:56 PM

गभर्नरका दाबेदार छानविनको घेरामा

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:२१ AM)

गभर्नरका दाबेदार छानविनको घेरामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । सोमबार बिहान बसेको राष्ट्र बैंंकको सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यमा सुवोध कर्ण र रामजी रेग्मी छन् । समिति गठनसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् । समितिलाई छानविनका लागि १ महिनाको समय दिइएको छ । गत साताको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पार्ने काम गरेको, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीविरुद्ध विभिन्न उजुरी परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको, वैदेशिक भ्रमणमा जाँदा आफूले कानुनबमोजिम पाउनेभन्दा बढी सुविधा फर्जी कागजात तयार गरी लिई नेपाल राष्ट्र बैंकलाई हानि नोक्सानी पु¥याएकोलगायत आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई श्रेष्ठसँग स्पष्टीकरण सोध्न निर्देशन दिएको थियो । 

सरकारले उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमासमेत थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन २०६४ को दफा २१ बमोजिम सहयोगका लागि सम्पत्ति शुद्धीकरण विभागले पनि पत्राचार गरेकाले उनीमाथि छानविन गर्न निर्देशन दिएको जनाएको छ । डेपुटी गभर्नर श्रेष्ठ गभर्नरको लाइनमा थिए तर सरकारले उनीमाथि कारबाही प्रक्रिया सुरु गरेसँगै गभर्नर बन्ने बाटोसमेत बन्द भएको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिँदैछ । गभर्नर बन्न राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ कसरतमा थिए । 

त्यसो त गभर्नरको अन्य दाबेदारमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंकबाट केही महिनाअघि अवकाश प्राप्त कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र भाष्करमणि ज्ञवालीसमेत छन् । त्यस्तै राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक वासुदेव अधिकारी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि गभर्नरका आकांक्षीमा छन् ।


Views: 105