18th November | 2019 | Monday | 10:53:08 PM

१३ करोड विगोदाबीसहित राजस्व छली मुद्दा

हिमालय टाइम्स   POSTED ON : कार्तिक २०, २०७६ (१०:३३ AM)

१३ करोड विगोदाबीसहित राजस्व छली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने निर्माण कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालिले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विजकमात्र खरिद गरी भ्याट र आयकरसमेत चुहावटको कसुरमा मुद्दा दायर गरेको छ । 

विभागले १३ करोड रुपैयाँभन्दा बढी विगोदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरूले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी भ्याटतर्फ ४ करोड २१ लाख ८ हजार ८ सय २ रुपैयाँ र आयकरतर्फ ७ करोड ७७ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ र भएको आय लुकाई कानुन बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ १ करोड १४ लाख ३१ हजार ८२ रुपैयाँसमेत गरी राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनबमोजिम हुने जम्मा विगो १३ करोड १३ लाख ११ हजार ६ सय ७७ सय रुपैयाँ कायम गरिएको छ । 

राजस्व चुहावट गरेको कसुरमा कम्पनीका सञ्चालकलाई विगो रकम असुल उपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  यसअघि विभागले करिब ३४ करोड विगोदावीसहित व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो । भारत स्थायी ठेगाना भएको रितेशकुमार मधेसियासमेतलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावटसमेत गरेको अभियोगमा ३३ करोड ३२ लाख विगोसहित रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो भने भारत मोतिहारी जिल्ला मदन सिर्सियाग्राम बस्ने वर्ष ३८का सञ्जयकुमार सिंहसमेतले भन्सार चोरी पैठारी गरेको अभियोगमा ५६ लाख ६० हजार विगो कायम गरी पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

बैंकिङ कसुरमा फरार जेल चलान

बैंकिङ कसुर मुद्दामा फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कसुरदाहरू सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेलसमेत भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलापछि दोषी ठहर उनीहरूलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । 

उनीहरूलाई कारागार चलान गरिएको सीआईबीले जनाएको छ । सञ्जयलाई कात्तिक १७ गते गौशलाबाट र लक्ष्मीदेवीलाई कात्तिक १९ गते वीरगञ्जबाट पक्राउ गरेको हो । क्रिस्टल फाइनान्स थापाथलीबाट २०६७ फागुन २५ गते जग्गा धितो राखी धितो राखेको जग्गा आफुखुशी अस्वभाविक मूल्यांकन गराई कर्जा लिई दुरुपयोग गरेको मुद्दा दायर भएको थियो । मुद्दामा दोषी ठहर गर्दै सञ्जलाई १ करोड ९५ लाख २६ हजार जरिवाना तथा ३ वर्ष कैद र लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार जरिवाना र २ वर्ष कैद सजायको फैसला भएको थियो ।


Views: 109