18th November | 2019 | Monday | 9:38:59 PM

युरोपीयन मुलुकमा निर्यात प्रवद्र्धनमा जोड

हिमालय टाइम्स   POSTED ON : कार्तिक २०, २०७६ (१०:३६ AM)

युरोपीयन मुलुकमा निर्यात प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारीले बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गस्थित नेपाली राजदूत लोकबहादुर थापाबीच छलफल गरेका छन् । सो अवसरमा राजदूत थापाले आफूले ती मुलुक र नेपालबीच आर्थिकसम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकाले चेम्बरको सुझाबलाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन् ।

 उनले आफूले नेपाली उत्पादन, लगानीका अवसर तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्नुको साथै कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने बताए । युरोपीयन युनियनका लागि समेत राजदूत थापाले युरोपीयन युनियनले प्रदान गरेको एभ्री थिङ वट आर्म (इबिए)अन्तर्गत नेपाल जस्तो अल्पविकसित मुलकबाट विनाभन्सार निर्यात गर्ने अवसरको प्रचुरतम फाइदा नेपालले लिन आफ्नो तर्फबाट प्रवद्र्धन कार्यमा रहने कटिबद्ध रहेको र व्यावसायिक समुदायलेसमेत उत्पादनदेखि निकासी बजार तहसम्म वस्तु विकास र निकासीमा जोड दिनुपर्ने बताए ।

साथै लगानी सुरक्षित गर्न ईयूका सदस्य राष्ट्रसँग विप्पा र दोहोरो कर उन्मुक्ति सम्झौता क्रमशः तीव्रताका साथ गर्दै जानुपर्नेमा पनि उनले जोड दिए । चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भिœयाउन कूटनीतिक पहलमा जोड दिनुपर्ने बताए । उनले विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रको प्रवद्र्धन गर्न आर्थिक कूटनीति आवश्यक रहेको बताए । 

औद्योगिक÷व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन मेला, एफडीआई आकर्षण, ईयूका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावनासम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताको बजार विस्तार गर्न युरोपीयन युनियनका संभाव्य आयातकर्तासँग अन्तक्र्रिया गराउन पहल, नेपालको चिया तथा कफी निर्यातका लागि त्यहाँका आयातकर्तासँग सम्बन्ध विस्तार राजदूत थापाको भूमिका महŒवपूर्ण हुने उनको भनाइ थियो । 

चेम्बरका अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग १ करोड ५८ लाख ५५ हजार ८ सय २६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा नेदरल्याण्डबाट सन् २०१८ मा १ करोड ९७ लाख ४४ हजार २ सय २८ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा ३९ लाख १८ हजार ४ सय २ अमेरिकी डलर बराबरको निर्यात भएको छ । 

सन् २०१८ मा बेल्जियमसँग १ करोड ८० लाख ७५ हजार सय ८ अमेरिकी डलरबराबर व्यापारघाटा छ भने नेपालमा बेल्यिमबाट मा २ करोड ७ लाख १५ हजार ८ सय ५५ अमेरिकी डलर बराबर आयात भएको छ । नेपालबाट बेल्जियमा सन् २०१८ मा २६ लाख ४० हजार ३ सय ४७ अमेरिकी डलरबराबर निर्यात भएको छ । 

सन् २०१८ मा लक्जम्बर्गसँग ४ लाख ४६ हजार ७३ अमेरिकी डलरबराबर व्यापार घाटा छ भने नेपालमा लक्जम्बर्गबाट ४६ हजार ३ सय २३ अमेरिकी डलर बराबर आयात भएको छ । नेपालबाट लक्जम्बर्गमा १७ हजार १ सय ५८ अमेरिकी डलरबराबरको निर्यात भएको छ ।

राजदूत दाहाल र शेर्पाको ध्यानाकर्षण

नेपाल उद्योग परिसंघ (सिएनआई)ले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्यमा जोड दिएको छ । सिएनआइले मंगलबार आयोजित कार्यक्रममा अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको ध्यानाकर्षण गराएको हो । 

सिएनआइका अध्यक्ष सतिशकुमार मोरले सिएनआइले आर्थिक कूटनीतिलाई उच्च महŒव दिँदै आएको उल्लेख गर्दैै देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा अव्बल रहनुपर्ने मान्यताका साथ सरोकारवालसँग संवाद तथा सहकार्य गर्दै आएको बताए ।

नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्र पूर्वाधार, जलविद्युत्, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशका सरकार र लगानीकर्तासँग सम्बन्ध अझ विस्तार गर्न राजदूतावासको सक्रियता आवश्यक रहेको उनले बताए । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले व्यावसायिक क्षेत्र तथा संघसंस्थाबीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताको भ्रमण आदानप्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राख्ने बताए । 

उनले नेपाली वस्तुको निर्यात बढाउन दूतावासमा नेपाली वस्तुको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने जानकारीसमेत दिए । स्पेनका लागि राजदूत शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको र पर्यटक बढाउन थप पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक सम्बन्ध विस्तार गर्न सिएनआईसँग सहकार्य गर्ने बताइन् । त्यस्तै नेपाली वस्तु तथा उत्पादनको बजार तथा लगानी प्रवद्र्धन गर्ने र प्रविधि हस्तान्तरणलगायत आर्थिक विषयमा पनि राजदूतद्वयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएको सिएनआईले जानकारी दिएको छ । 


Views: 107