18th November | 2019 | Monday | 10:37:30 PM

पोषण सम्मेलनको काठमाडौं घोषणपत्र

हिमालय टाइम्स   POSTED ON : कार्तिक २२, २०७६ (९:५० AM)

पोषण सम्मेलनको काठमाडौं घोषणपत्र

काठमाडौं । मानव जाति र पृथ्वी दुवैका लागि पोषण भन्ने नाराका साथ काठमाडौंमा आयोजित पोषणसेवा विस्तार अभियानसम्बन्धी विश्व सम्मेलन २०१९ काठमाडौं घोषणपत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । 

संयुक्त राष्ट्रसंघको पहल र सदस्य राष्ट्रको नेतृत्वमा सन् २०१० बाट सुरूवात भएको पोषण सेवा विस्तार अभियानको पाचौं विश्व सम्मेलन एसियामा पहिलोपटक नेपाल सरकार र सन मुभभेन्टको संयुक्त आयोजनामा भएको हो । सम्मेलनको समापन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्नुका साथै संवैधानिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सरकारले आवश्यक नीतिगत, कानुनी तथा सेवा प्रदायक संरचना निर्माण गरेको बताए । 

उनले शिशु तथा मातृ स्वास्थ्यलाई केन्द्रमा राखेर पोषणलाई सुदृढ गर्न बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको, खाद्य सुरक्षा एवं खाद्य संप्रभुतासम्बन्धी ऐन र प्रजनन स्वास्थ्यसम्बन्धी ऐनले पनि पोषणलाई उच्च प्राथमिकतामा राखेको बताए । सम्मेलनले विभिन्न मुलुकबीच अनुभव आदानप्रदान तथा असल अभ्यासबाट सिक्ने अवसर प्रदान गरेको र पोषण संवेदनशील तथा पोषण लक्षित रणनीतिक दृष्टिकोणसहितको उच्च राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने अवसरसमेत प्रदान गरेको उनले बताए । 

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका प्राथमिकताका बारेमा विश्व सम्मेलनलाई बताउने अवसर प्राप्त भएको बताए । पोषणसम्बन्धी अभियानको महŒव दिगो विकासका लक्ष्यसँग जोड्दै दुवै अभियानकाबीच अनोन्याश्रित सम्बन्ध रहेकाले सँगसगै अघि बढाउनुपर्ने बताए । उनले पोषणसम्बन्धी अभियानमा नेपाललाई सघाउन आहृवानसमेत गरे ।

संयुक्त राष्ट्र संघका सहायक महासचिव एवं सन अभियानकी संयोजक जर्दा भर्वगले सम्मेलन नेपालको काठमाडौंमा आयोजना गर्न नेपाल सरकारबाट भएको सहकार्यका लागि हार्दिक आभार व्यक्त गर्दै सम्मेलनमा गरिएका प्रतिबद्धता एवं सिकाइलाई आआफ्नो राष्ट्र एवं कार्यस्थलमा कार्यान्वयनमा लैजान आग्रह गरिन् । सो अवसरमा जापान सरकारको आयोजनामा टोकियोमा हुने पोषण सम्मेलनलाई लक्षित गर्दै नेपालका लागि जापानका राजदुतदू काठमाडौं घोषणापत्र हस्तान्तरण गरिएको थियो । 

आयोजक संस्था राष्ट्रिय योजना आयोगका अनुसार सम्मेलनमा ७३ राष्ट्रको सहभागिता रहेको थियो भने स्रोत व्यक्ति, साझेदार, पर्यवेक्षक र स्वयंसेवक गरी विश्वका विभिन्न १०१ देशबाट गरी करिब १ हजार २ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन अवधिभर चारवटा पूर्णसत्र र २५ वटा कार्यशाला सञ्चालन भएको आयोगका प्रवक्ता डा.किरण रूपाखेतीले जानकारी दिएका छन् ।


Views: 81