18th November | 2019 | Monday | 9:34:19 PM

प्याजको मूल्य हालसम्मकै उच्च

लेखनाथ पोखरेल   POSTED ON : कार्तिक २२, २०७६ (९:५१ AM)

प्याजको मूल्य हालसम्मकै उच्च

काठमाडौं । दैनिकजसो भान्समा प्रयोग हुने प्याजको मूल्य आकासिएको छ । व्यापारीका अनुसार बिहीबार एक्कासि भाउ आकासिएर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

कालीमाटी तथा फलफूल तरकारी विकास समितिका अनुसार बिहीबार सुकेको प्याजको थोक मूल्य प्रतिकेजी १२५ रुपैयाँदेखि १३० रुपैयाँ छ । थोक मूल्य नै १३० रुपैयाँ रहेकोले प्याज सर्वसाधारण उपभोक्ताले खरिद गर्नै नसक्ने अवस्था सिर्जना भएको छ । तर व्यापारीहरूले भने पछिल्लो समय भारतमै प्याजको मूल्य बढेकोले नेपाली बजारमा पनि महँगो हुन गएको दाबी गरेका छन् ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भारतमै मूल्य बढेका कारण आयात लागतलगायतका कारण नेपाली बजारमा थप महँगो पर्न गएको बताए । उनका अनुसार भारतमै हाल प्याजको मूल्य प्रतिकेजी भारु ७६ रुपैयाँ छ । 

विगत ४, ५ दिनदेखि प्याजको मूल्य बढ्दो क्रममा रहेको र मूल्य बढ्नुमा व्यापारीको कुनै हात नरहेको दाबीसमेत उनले गरे । यस वर्ष भारतमै प्याजको उत्पादन ५० प्रतिशतले घटेका कारण भारतीय बजारमै मूल्य बढेको थियो । भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, आन्द्र प्रदेश, तमिलनाडु र कर्नाटकमा सबैभन्दा बढी प्याज उत्पादन हुन्छ । नेपालमा भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ ।

त्यसो त भारत सरकारले केही वर्षअघि प्याजको निर्यातदर घटाउन न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएको थियो । यसवर्ष आफ्नै देशमा प्याजको उत्पादन घटेपछि भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ । तथापी अवैधरूमा आयात हुने गरेका कारण प्याजको आपूर्ति भने भइरहेको थियो । असोज पहिलो साता पनि प्याजको मूल्य आकासिएकोमा पछिल्लो समय क्रमम घट्दो क्रममा रहेको थियो । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । 

कालीमाटी तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थमा दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुने गरेको छ । तर अहिले आयात ५० प्रतिशतमा झरेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । नेपाल बजारको करिब ९० प्रतिशत माग भारतबाट आयात गरिने प्याजले धान्न गरेको थियो । विकल्पका रूपमा चिनियाँ प्याज आयात हुने गरेको भएपनि भारतीय प्याज जस्तो गुणस्तरीय नहुने र चाँडै विग्रिने समस्या रहेको घिमिरेको भनाइ छ । 

भण्डारणका हिसाव पनि तुलनात्मकरुपमा भारतीय प्याज टिकाउ रहेको छ । नेपाली उपभोक्ताले चीनको प्याज उपभोग गर्न कम्तीमा एक महिना कुर्नुपर्ने हुन्छ । एलसी खोलेर चीनबाट प्याज आयात गर्न कम्तीमा एक महिनाको समय लाग्छ । चीनको प्याजमा अत्यधिक परिमाणमा पानीको मात्रा हुने र हेर्दा कालोजस्तो देखिने हुनाले नेपाली उपभोक्ताले चिनिया प्याज त्यति नरुचाउने व्यापारी बताउँछन् ।

त्यसो भारतबाट नयाँ उत्पादन हुन थालेपछि प्याजको मूल्य सामान्य अवस्थामा आउने घिमिरेले बताएका छन् । आगामी मंसिर १५ गतेदेखि नयाँ उत्पादन आउन सुरु हुनेछ । मूल्य वृद्धिको अवस्था करिब एक महिनासम्म कायम रहने पनि उनले बताएका छन् । प्याजमात्रै नभई अधिकांश तरकारीको मूल्य बढेको छ । 

ठूलो गोलभेडा प्रतिकेजी थोक मूल्य ८५ देखि ९० रुपैयाँ, सानो गोलभेडा ७० देखि ८० रुपैयाँ, आलु रातो ५३ देखि ५५ रुपैयाँ र वोडी प्रतिकेजी १ सय रुपैयाँसम्म पुगेको छ । तर उक्त मूल्यवृद्धि क्षणिक भएको र नयाँ उत्पादन आउन थालेपछि हरियो तरकारी मूल्य सामान्य अवस्थामा आउने घिमिरेको भनाइ छ । दशैँ तिहारलगायतका चाडवर्षका कारण किसानहरू चाडपवर्षमा व्यस्त भएर आपूर्ति घटेका कारण पनि मूल्य बढ्न गएको उनले बताए ।


Views: 150