13th December | 2019 | Friday | 4:00:53 PM

कार्यसम्पादन सम्झौतअनुसार काम नगरे पदमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:३१ AM)

कार्यसम्पादन सम्झौतअनुसार काम नगरे पदमुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले कार्यसम्पादन सम्झौताअनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनीसमेत दिएका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको ०७६÷७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँंग गर्नुभएको छ । त्यस्तै सचिवज्यूसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गनुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्यांकन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं ।’

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै सोहीअनुसार काम गर्न पनि निर्देशन दिए । उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो, भन्दै गर्छन् यस्तै हो, चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन ।’ यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’ मन्त्री पुनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत चेतावनी दिए । 

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि उनले निर्देशन दिए । अन्तरमन्त्रालय र अन्य निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैंले गर्नुपर्ने बताए ।

उनले भने, ‘तपाईहरूले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाको सोझै सचिव, महानिर्देशकले नै निगरानी र सहजीकरण गर्नुप¥यो, आफै फिल्डमा गएर भए पनि समस्याको समाधान गर्नुप¥यो । अहिले पनि अरूलाईमात्र दोष दिएर उम्कने काम राम्रो होइन ।’ बैठकमा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायत सरकारी निकाय प्रमुखहरूले प्रस्तुतीकरण दिएका थिए । 

२५ मेगावाटको सोलार प्लान्ट अन्तिम चरणमा

नुवाकोटमा निर्माणाधिन २५ मेगावाटको सोलार प्लान अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत आयोजनाका अनुसार आगामी ३ महिनाभित्रै १० मेगावाटको विद्युत् प्राधिकरणका अनुसार उक्त आयोजनाबाट २ चरणमा आगामी ६ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । कुल २.५ मिटर लम्बाइको पिल्लर गाड्न ड्रिल गर्ने उपकरण प्रयोगमा ल्याइएकोले आगामी २ देखि ३ महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न ७ स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजनाअन्तर्गत उक्त कार्य अगाडि बढेको प्राधिकरणले जनाएको छ । नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा ‘ग्रीड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो । विश्व बैंकको ग्रीड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’मार्फत भइरहेको छ । करिब ३ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौतामा उल्लेख छ । परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । 


Views: 61