27th January | 2020 | Monday | 4:50:21 AM

चेम्बर ७० औं वर्षमा : निजी क्षेत्रको गुनासोप्रति अर्थमन्त्री असन्तुष्ट

  POSTED ON : पुष २९, २०७६ (१०:४८ AM)

चेम्बर ७० औं वर्षमा : निजी क्षेत्रको गुनासोप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बने पनि निजी क्षेत्रले गुनासो गर्न नछाडेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले लगानीमैत्री कानुन निर्माण गरी लगानीको सहज वातावरण बताएको उनले बताए । सोमबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्रीले व्यवसायीहरूलाई निर्यातमा आधारित अर्थतन्त्र निर्माण जोड दिन आग्रहसमेत गरे । व्यवसायीसँग हरेक क्षेत्रमा कानुन निर्माणदेखि सदाचारितासँग सम्बन्धित विषयमा साथ दिइरहेको र त्यसकै लागि सरकारले व्यवसायीलाई सहज वातावरण बनाउन प्यान, भिसिटिएस लगायतका सुविधा ल्याएको भन्दै पछिल्लो समय अनुदानको विषयमा व्यवसायीबीच नै कुरा नमिलेको बताए । उनले भने, व्या पारघाटा बढिरहेको छ, यसलाई कम गर्ने उपाय भनेको निर्यात प्रवद्र्धन हो, अब व्यवसायीलाई अनुदान दिने विषयमा व्यवसायीमै दुईमत भएको मैले पाएको छु । कतिपय साथीहरू अनुदान दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, कतिपय दिनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ, यो मैले कुरा बुझ्न सकिरहेको छैन ।

एकथरीको निर्यात हाउसलाई अनुदान दिनुपर्ने भन्ने र अर्को थरीको उत्पादकलाई पो दिनुपर्ने रहेको उनले बताए । सरकार भने अब उत्पादनको साधनमा जाने हो कि पुँजीमा जाने हो कि विद्युत्मा जाने भन्नेमा अध्ययन गरिरहेको उनले जानकारी गराए ं। उनका अनुसार संस्थागत आयकरको दर बढाइएको छैन । मूल्य अभिवृद्धि कर पनि बढाएको छैन । अब कसरी व्यावसायिक वातावरण बिग्रियो त ? अलिकति डर होला सम्पत्ति शुद्धीकरणको, राजस्व अनुसन्धानको तर यस्तो डर त आपराधिक व्यक्तिलाई मात्र हुन्छ, बाँकी डराउनै पर्दैन । वर्तमान सरकार व्यवसायमैत्री सरकार भएकोले पहिलो प्राथमिकता भनेको निजी क्षेत्रमैत्री कानुनको निर्माणलाई उच्च प्राथमिकता दिइएको बताए । नेकपाको चुनावी घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम, सरकारको बजेट र त्यसपछिका सुधारका कार्यमा निजी क्षेत्रमैत्री बनेको प्रमाण रहेको पनि उनको भनाइ थियो ।

दण्ड जरिवानाका स्वविवेकीय अधिकारहरू हटाइएको, व्यवसायीले जेलै जानुपर्ने कुरा पहिलेभन्दा घटाइएको पनि उनले बताए । वर्तमान सरकार व्यवसायलाई हतोत्साहित, निरुत्साहित गरेर समृद्धितर्फ अघि गइन्छ भन्ने गलत सोचमा नरहेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘सरकार र निजी क्षेत्र भनेको एउटै डुंगामा यात्रा गर्दैछौं । तपाई निजी क्षेत्र डुब्ने र सरकार तैरियर जाने भन्ने हुन्न । हामीसँग त्यस्तो अर्काे कुनै लाइफ ज्याकेट छैन, जुन तपाईहरूसँग नहोस् । हामीसँगै छौं, सँगै यात्रामा रहन्छौं । व्यवसायमा देखिएका कानुनी र व्यावहारिक समस्या हामी क्रमशः हल गर्दै जानेछौं । ’

भ्रष्टाचारमा शून्य सहनशीलता र उच्च सदाचारिताका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्ने उनले बताए । उनले भने, ‘कतिपय कानुनले व्यवसाय गर्न असहजता ल्याएको भन्ने सवाल पनि छ । स्वच्छ व्यवसाय भएन भने इमानदार व्यवसायी बजारबाट हट्ने, अलिकति अपारदर्शी व्यवसाय गर्नेले बजार थिप्ने, मिच्ने हुनसक्छ । त्यस्तो हुन नदिनु हाम्रो दायित्व हो ।’ उनले नेपाली उत्पादन निर्यात गर्न सहजीकरणका लागि विभिन्न भाषमा लेवलिङ गर्न लागेकोसमेत जानकारी गराए । उद्योगराज्यमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई ज्वाईँसरह सम्मान गरिने बताए । सरकार उद्योगीको पक्षमा रहेको भन्दै निजी क्षेत्रलाई ज्वाईँ जसरी सेवा गर्न तयार तयार रहेको बताएका हुन् । उनले उद्योगीहरूले कुनैपनि उद्योगधन्दा चलाउन घरबाटै अप्लाई गर्न मिल्नेगरी एप्स र सफ्टवेयर संचालनमा ल्याइने बताए । उनले कुनै आर्थिक क्रियाकलापमा उद्योगीलाई लगेर थुन्ने काम ठीक नभएको पनि बताए । साथै पाम आयल निर्यातका लागि पनि कूटनीतिक पहल भइरहेको जानकारीसमेत गराए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि ल्याउन उद्योगी व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न आग्रह गरे । देशको निर्यात व्यापार वृद्धि गर्न निर्यातमा दिइने अनुदानसमेत बढाउनुपर्ने उनको माग थियो । निजी क्षेत्र सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली महाअभियानको सारथि भएको दाबी गर्दै उनले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।


Views: 99