10th April | 2020 | Friday | 2:43:23 PM

राष्ट्रियसभाका कारण सीईओ नियुक्तिमा ढिलाइ

हिमालय टाइम्स   POSTED ON : माघ १०, २०७६ (१०:३२ AM)

राष्ट्रियसभाका कारण सीईओ नियुक्तिमा ढिलाइ

काठमाडौं । राजनीति हस्तक्षेपका कारण नेपाल पर्यटन वर्ष बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्तिमा ढिलाइ भएको आरोपको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई खण्डन गरेका छन् । उनले राजनीति हस्तक्षेपका कारण नभई राष्ट्रिय सभा निर्वाचनको आचारसंहितका कारण नियुक्ति प्रभावित भएको भन्दै सोमबार मंगलबारसम्ममा नियुक्ति हुने जानकारी दिएका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिमण्डलसँगको बिहीबार भएको भेटमा मन्त्री भट्टराईले यस्तो जानकारी दिएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खोम सुवेदीले हिमालय टाइम्सलाई बताए । उनका अनुसार मन्त्री भट्टराईले बोर्डको सीईओ नियुक्तिमा कुनै राजनीति हस्तक्षेप नहुने भन्दै आश्वस्त पारेका छन् । 

पुस १४ गतेदेखि रिक्त बोर्डको सीईओ छनोटमा राजनीतिक हस्तक्षेप भएका कारण छनोट प्रक्रिया लम्बिएको चर्चापछि व्यवसायीले हालको प्रक्रियाअनुसार नै सीईओ नियुक्त गर्न पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएका छन् । भ्रमण वर्ष २०२० सुरु भएपछि विगत लामो समयदेखि बोर्डको सीईओ पद खाली हुनु दुर्भाग्य भन्दै छिटो नियुक्ति गर्न नियुक्ति गर्न आग्रह गरिएको (टान)का अध्यक्ष खुम सुवेदीले बताए । सर्टलिष्टमा राखेका तीनजनामध्येबाटै सीईओ छनोट गर्न आग्रह गरिएको पनि उनले जानकारी दिए । प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा रिक्त कार्यकारी अध्यक्ष पनि तत्काल नियुक्त गर्न आग्रह गरेको सुवेदीले जानकारी दिएका छन् । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले गतसाता राजीनामा दिएपछि कार्यकारी पद रिक्त रहेको छ । टानका अध्यक्ष सुवेदीका अनुसार प्रतिनिधिमण्डलमा टान, होटल एसोसिएसन नेपाल(हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाटा) लगायत आधा दर्जनभन्दा बढी संंघसंस्थाको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री योगेश भट्टराईबीचको विवादका कारण बोर्डको (सीईओ) छनोट प्रक्रिया लम्बिएको चर्चा छ । प्रधानमन्त्री र पर्यटनमन्त्रीको स्वार्थ बाझिएका कारण यस्तो भएको स्रोतको दाबी छ । सोही कारण छनोट समितिको बैठक बस्न नसकेकोे बताइएको छ । समितिका सदस्य कृष्णबहादुर महराले पनि यस्तो संकेत गरेका छन् । तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल डिसेम्बर २४ मा सकिएपछि आगामी चार वर्षका लागि सीईओ छनोट हुन लागेको हो । सीईओ छनोटका लागि पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा महरा र विप्लव पौडेल संलग्न भएको समिति गठन गरेको थियो । समितिले प्राप्त आवेदनमध्येबाट गत साता धनञ्जय रेग्मी, हिक्मतसिंह एैर र दीपक बस्ताकोटीलाई सर्टलिष्ट गरेको थियो । चर्चामा रहेका दीपकराज जोशी सर्टलिष्टबाटै बाहिरिएका थिए । 


Views: 69