10th April | 2020 | Friday | 3:04:07 PM

स्नातकोत्तर गरेका पण्डित मूर्ति बनाउँदै

पुरन साह   POSTED ON : माघ १०, २०७६ (४:४२ PM)

स्नातकोत्तर गरेका पण्डित मूर्ति बनाउँदै

जनकपुरधाम । माघ १६ गते हुने वसन्त पञ्चमी (सरस्वती पूजा)को तयारी भइरहेको छ । विद्यार्थीहरु नयाँ लुगा र पूजापाठको तयारीमा छन् भने सो दिन प्रत्येक विद्यालय, कलेज र चौकहरुमा आवश्यक पर्ने विद्यादायनी माता सरस्वतीको मुर्ती बनाउन मुर्तीकार दिनरात खटिरहेका छन् । माटोको मुर्ती बनाउने मुर्तिकारहरुलाई अहिले खाने फुर्सत पनि छैन । 

अरुझै जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठा निवासी उतिमलाल पण्डित पनि अहिले मुर्ति बनाउन व्यस्त छन्  । हेर्दा उनी मुर्तीकार नै भएपनि उनको शैक्षिक योग्यता भने स्नातकोत्तर हो । पुर्खाबाट सिकेको कलालाई प्रत्येक वर्ष यस समयमा सदुपयोग गर्दै उनले वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् । 

मुर्तीकार पण्डित लघु उद्यम विकास कार्यक्रम परियोजनाको कार्यक्रम संयोजकसहित विभिन्न संस्थामा आवद्व भएर समेत काम गरिसकेका छन् । तर माघ महिना नजिक आउनै लाग्दा उनी आफ्नो पुर्खौली पेसा मूर्ति बनाउनमा ब्यस्त हुन्छन् । सरस्वती पूजामा मात्र प्रत्येक वर्ष करिव ८ सय सम्म मुर्तीहरु बेचेर उनले ७ लाखसम्म कमाउन सकिने बताए । तराई मधेशमा सरस्वती पूजा पुजापाठका साथसाथै धुमधाम गरि मनाइने भएकाले समेत मुर्तीकारहरु व्यस्त छन् । महोत्तरीमा समेत अर्डर अनुसारको मुर्ति बनाउन उनीहरुलाई भ्याई नभ्याई छ । एडकारा गाउँपालिका वडा नं. ६ कोल्हुवा चोकमै केहि मुर्तिकारहरु सयौंको संख्यामा अधुरो मुर्ति लाम लगाएर सुकाउन राखेका छन् । अहिले मुर्तिको आकार दिनेदेखि माटो लगाउने काममा उनीहरु व्यस्त भएका हुन  । समयमै मुर्ति अर्डर गरेका विद्यालयलाई दिनु पर्ने भएकोले अहिले रात दिन उनीहरु मुर्ति बनाउन नै व्यस्त हुने गरेका छन । मुर्तिकार विमलेशकुमार पंडित मेहनत अनुसारको पैसा आईरहेको भन्दै खुसी व्यतm गर्छन । 

सरस्वती पूजाका साथसाथै विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी र दुर्गा पूजालगायतका विभिन्न देवी देवताको पुजापाठ र महोत्सवका वेला उनीलाई राम्रो आम्दानी हुने गरेको छ । तर मुर्ती बनाउन आवश्यक पर्ने मलिलो माटो अब सजिलै नपाउने भएकाले उनीहरुलाई समस्या हुने गरेको छ । पहिले मुर्ति बनाउन आवश्यक पर्ने सामानहरु भारतबाट ल्याउनु पर्ने भएपनि अव भने जनकपुरधाममै उपलब्ध हुन थालेको प्रति भने उनीहरु खुशी छन् । एउटा मुर्ती अडर र डिजाइन अनुसार न्युनतम दुई हजार पाँचसयदेखि अधिकतम २५ हजारसम्ममा विक्री हुने गरेको छ । तर अधिकांश विद्यालयहरुमा माता सरस्वतीको स्थाई मुर्ती सहितको मन्दिरनै बन्न थालेपछि माग कम हुँदै गएको समेत उनीहरु बताउँछन् । 



तस्वीर : माता सरस्वतीको मुर्ती बनाउँदै मुर्तीकार पण्डित । तस्वीर : पुरन साह/हिटा 



Views: 132