29th February | 2020 | Saturday | 6:26:33 AM

सरकारले बजेटको आकार १० प्रतिशत घटायो

  POSTED ON : माघ २९, २०७६ (५:२७ PM)

सरकारले बजेटको आकार १० प्रतिशत घटायो

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटको आकार १० प्रतिशतले घटाएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताए ।

सरकारले यसअघि चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

सरकारले अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको हो ।

आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको अर्थमन्त्री खतिवडाले बताए । त्यस्तै अर्धवार्षिक समीक्षामा चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ अर्थात विनियोजित बजेटको ९४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ भने पूँजीगत तर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात ८० दशमलव १ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थापत तर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात ९२ दशमलव २ प्रतिशत खर्च हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए।

सरकारको स्रोत व्यवस्थापन तर्फ राजश्व र आन्तरिक ऋणबाट कुल ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको समेत अर्थमन्त्री खतिवडाले बताए। जुन बजेटमा राखिएको लक्ष्यको साढे ९५ प्रतिशत मात्र हुने मन्त्री खतिवडाले बताए ।

उनले ६ महिनामा विनियोजित बजेटको २७ दशमलव ६ प्रतिशत अर्थात ४ खर्ब २२ खर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको जानकारी गराए । त्यस्तै यो अवधिमा चालु तर्फ ३२ दशमलव ४ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ, पूँजीगत तर्फ १५ दशमलव ४ प्रतिशत अर्थात ६२ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २९ दशमलव ९ प्रतिशत अर्थात ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको उनले बताए । उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको समेत बताए ।

अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको बताए । यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने रेमिट्यान्स आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका थिए ।


Views: 87