29th February | 2020 | Saturday | 6:07:10 AM

६ महिनामा ४ खर्ब २२ अर्बमात्रै खर्च, फागुनभित्र ठेक्का नभए बजेट फिर्ता

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७६ (१०:०२ AM)

६ महिनामा ४ खर्ब २२ अर्बमात्रै खर्च, फागुनभित्र ठेक्का नभए बजेट फिर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७६÷७७ को ६ महिनामा ४ खर्ब २२ अर्ब रुपैयाँमात्रै खर्च भएको छ । बुधबार आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्, जुन कुल विनियोजित रकमको २७.६ प्रतिशत हो । चालु आवमा ९० प्रतिशत बजेट खर्च हुने र पुँजीगत खर्च ८० प्रतिशत पुग्ने अर्थमन्त्रीले बताए । 

सरकारले चालु आर्थिक आवका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएकोमा अर्थमन्त्री खतिवडाले १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका हुन् । चालु खर्चतर्फ  ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख अर्थात विनियोजित बजेटको ३२.४ प्रतिशत, पुँजीगत र वित्तीय व्यवस्थातर्फ विनियोजनको क्रमशः ६२ अर्ब ७६ करोड ६७ लाख अर्थात १५.४ प्रतिशत र ५० अर्ब १७ करोड ७० लाख अर्थात २९.९ प्रतिशत खर्च भएको छ । चालु आवमा विनियोजित बजेटको चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ कारेड ८ लाख अर्थात ९४.५ प्रतिशत, पुँजीगतर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख अर्थात ८०.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात ९२.२ प्रतिशतमात्रै खर्च हुने अनुमान छ । करिब १० प्रतिशतले बजेटको आकार घटाए पनि अर्थमन्त्री डा खतिवडा यस वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने दाबी भने दोहा-याएका छन् । 

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले भने साढे ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान प्रक्षेपण गरेका छन् । अर्थमन्त्री खतिवडाले सार्वजनिकरूपमै विश्व बैंकका प्रतिनिधि र नेपाल भ्रमणमा आएको आइएमएफको आर्टिकल फोर मिसनसँग आर्थिक वृद्धिदरको प्रक्षेपण कम गरेकोमा असन्तुष्टि जनाउँदै त्योभन्दा बढीको वृद्धिदर हासिल गर्ने बताएका थिए ।

वैदेशिक सहायता नीतिमार्फत यसवर्ष ५० अर्ब प्राप्त हुने पनि उनले जानकारी दिए । यस अवधिमा ४ खर्ब ५६ अर्ब राजस्व संकलन भएको पनि उनले बताए । स्थायी लेखा नम्बर (प्यान) लिने संख्या ९ लाख ६७ हजार थपिएको र करदाताको संख्या २९ लाख ३९ हजार पुगेको उनले जानकारी दिए । राष्ट्रिय गौरवका आयोजनको प्रगति २० प्रतिशत रहेको छ भने यस अवधिमा ७ हजार ५ सयजनाले सहुलियत कर्जा लिएका छन् । फागुन महिनाभित्र विभिन्न आयोजना र विकासका कामको ठेक्का नलगाए बजेट नदिनेसमेत उनले बताए । उनले भने, ‘अझै पनि एक महिना समय छ, फागुन मसान्तसम्म खर्च गर्न नसक्ने आयोजनाले बजेट फिर्ता गर्नुपर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चौमासिकसम्म ५० प्रतिशत पुँजिगत खर्च हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका थिए । 

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा केही उच्च रही ६.४ प्रतिशत पुगेको छ । केही खाद्य वस्तुको मूल्यवृद्धि उच्च भएकाले समग्र मूल्य स्थितिमा चाप परेको छ । कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ । कुल व्यापारघाटा ६.१ प्रतिशतले घटी ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । समीक्षा अवधिमा रेमिट्यान्स आय ०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ४७ अर्ब २६ करोड पुगेको छ । यस अवधिमा चालु खाता घाटा अघिल्लो वर्षको तुलनामा झण्डै आधामात्र रही ८२ अर्ब १ करोडमा सीमित रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यस अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो । यस अवधिमा विदेशी विनिमय सञ्चिति ५७ अर्बले वृद्धि भई १० खर्ब ९६ अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चितिको विद्यमानस्तर ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

गौरवका आयोजनाको प्रगति १९ प्रतिशत 

चालु आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ८ करोड विनियोजन गरिएकोमा २० अर्ब ४१ करोड अर्थात् १९ प्रतिशतमात्रै खर्च भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने क्रममा रहेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको छ । 


Views: 93