29th February | 2020 | Saturday | 5:26:39 AM

दादुरा–रुबेला अभियानमा एनसेलको सहकार्य

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:२९ AM)

दादुरा–रुबेला अभियानमा एनसेलको सहकार्य

काठमाडौं । एनसेलले राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६÷७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने भएको छ । 

यस खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले अभियान दुई चरणमा सञ्चालन गर्नेछ । पहिलो चरण फागुन १ गते सुरु भई फागुन ३० सम्म सञ्चालनमा जमिा प्रदेश १, प्रदेश २ र प्रदेश ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाइनेछ । 

दोस्रो चरण चैत १ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुनेछ । यस चरणमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई खोप लगाइनेछ । परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार दादुरा–रुबेलाविरुद्धको खोप शतप्रतिशत बालबालिकालाई लगाउन जनचेतना अभिवृद्धि गर्न एनसेलबाट सहयोग प्राप्त भएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा–रुबेला खोप अभियानअन्तर्गत खोपको महŒवका बारेमा जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्रासँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरेका छन् । उनले भने, ‘हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ । एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रूपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर दिइएकोमा गौरवान्वित छौं ।’ 

रुबेला रोगले हाड जोर्नी सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने र जन्मदै विकलाङ्ग हुनेजस्ता समस्या हुनसक्छ । संक्रमणले रोगीको मृत्युसमेत हुन सक्छ । 

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत देशभर स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षातथा सञ्चार केन्द्रसँग गत असोज १३ गते समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सोही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेला खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको हो ।



Views: 46