29th February | 2020 | Saturday | 5:53:24 AM

तरकारीको मूल्यअन्तरलाई वैज्ञानिक बनाउन सुझाव

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:५१ AM)

तरकारीको मूल्यअन्तरलाई वैज्ञानिक बनाउन सुझाव

काठमाडौं । काठमाडौंको एकमात्रै सरकारीस्तरको तरकारीको स्रोत बजार व्यवस्थापक कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति २६औं वर्षमा प्रवेश गरेको छ । बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य रवीन्द्र केसीले कालीमाटी बजारबाट किसान र उपभोक्ता ठगिँदै आएको भन्दै मूल्य नियन्त्रणमा जोड दिए । उनले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्ने र उपभोक्ता पनि ठगिनु नहुने भन्दै उनले किसान र उपभोक्ताबीचको मूल्यअन्तरलाई वैज्ञानिक बनाउन समिति व्यवस्थापनलााई आग्रह गरे । उनले कालीमाटी बजारले मात्रै काठमाडौंको तरकारीको माग धान्न नसक्ने भन्दै बजार विस्तारमा समेत जोड दिए । कृषि विभागकी महानिर्देशक निरू दाहालले पनि कालीमाटी बजारको उचित व्यवस्थापन आवश्यक रहेको भन्दै विभाग आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताइन् । समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले कालीमाटी तरकारी बजारको विद्यमान अवस्था र भावी योजनाबारेमा जानकारी गराए । उनले काठमाडौंको चोभारमा स्रोत बजार र धादिङको नौबिसेमा संकलन केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढेको बताए । कार्यक्रममा केन्द्रीय फलफूल तथा तरकारी थोक व्यवसायी संघका टीकानारायण क्षेत्री, कालीमाटी फलफूल तथा तरकारी थोक व्यवसायी संस्थापक अध्यक्ष भरतप्रसाद खतिवडा, कृषक प्रतिनिधि सञ्जीव रेग्मी र व्यवसायी प्रतिनिधि नवीन शाहीलगायतले तरकारी बजारको विस्तार तथा सुधारमा जोड दिएका थिए । 

समितिका अनुसार कालीमाटीमा गत आर्थिक वर्ष २०७५÷७६ मा झण्डै ३ लाख मेट्रिकटन तरकारी भित्रिएको छ । सो अवधिमा २ लाख ८३ हजार ८ सय ९२ मेट्रिकटन तरकारी भित्रिएको हो । चालु आवको माग २१ गतेसम्म भने कुल १ लाख ५२ हजार २ सय ६० मेट्रिकटन तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

उक्त बजार दैनिक ७ सय ५० देखि ८ सय मेट्रिकटन तरकारी भित्रिने गरेको छ भने दैनिक ४ देखि ५ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिएका छन् । कुल तरकारीमध्ये ४१.४० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको छ भने करिब ६० प्रतिशत नेपाल विभिन्न जिल्लाबाट आपूर्ति हुने गरेको छ ।

समितिले बजार संरचनात्मक सुधारसहित कालीमाटी बजारको सुदृढीकरण, चोभार केन्द्रमा फलफूल बजार निर्माण र सञ्चालन, बालाजु बजार क्षेत्र विस्तार तथा एकीकृत कृषि उपज बजार विकास, नौबिसेस्थित जग्गामा संकलन केन्द्र एवं खुद्रा कृषि उपज तथा सामग्री बजार विकास र देशभित्रका अन्य तरकारी तथा फलफूल बजारसँग बजार सूचना सञ्जाल विस्तार तथा व्यवस्थापन समन्वय विस्तारको भावी योजना अघि सारेको छ । कालीमाटी बजार ४५ रोपनी फैलिएको छ भने बालाजु तरकारी बजार २.५ रोपनीमा रहेको छ । निर्माण गरिने भनिएका चोभार केन्द्र २२ रोपनी र नौबिसे केन्द्रको क्षेत्रफल ४.५ रोपनी रहेको छ । 


Views: 57