10th April | 2020 | Friday | 6:42:27 PM

निजी क्षेत्रको लगानीमा चोभारमा ८० रोपनीमा तरकारी बजार

लेखनाथ पोखरेल   POSTED ON : फाल्गुन ४, २०७६ (६:३१ PM)

निजी क्षेत्रको लगानीमा चोभारमा ८० रोपनीमा तरकारी बजार

काठमाडौं । सरकारले काठमाडौंको कालीमाटी तरकारी बजारको विकल्प दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रले नै चोभार हालसम्मकै ठूलो तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याउने भएको छ । कालीमाटीलगायत काठमाडौंका विभिन्न स्थानमा फलफूल तथा तरकारी व्यवसायको लगानीमा चोभारमा तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याउन लागिएको व्यवसायीले बताएका छन् । 

कालीमाटी फलफूल तथा तरकारी थोक व्यवसायी संस्थाका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार चोभारमा ८० रोपनीमा बजार सञ्चालनको तयारी भइरहेको छ । बजारका लागि आवश्यक जग्गामध्ये ६० रोपनी जग्गा खरिदसमेत भइसकेको छ । बाँकी जग्गा पनि फागुनभित्रै खरिद प्रक्रिया पूरा हुने उनले हिमालय टाइम्सलाई बताए । ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र नेपाली तरकारी निर्यातसमेत गर्ने उद्देश्यका साथ चोभारमा बजार सञ्चालन गर्न लागिएको उनले बताए । खतिवडाले हिमालय टाइम्ससँग भने, ‘२० सम्मको काठमाडौंको तरकारीको मागलाई धान्न सक्ने गरी बजार सञ्चालन गर्ने योजना रहेको छ । बजारमा कोल्ड स्टोरलगायत आवश्यक भौतिक पूर्वाधारको विकास गरिनेछ । खतिवडाका अनुसार ७५० जना व्यवसायीको लगानीमा सञ्चालनमा आउन लागेको तरकारी बजारमा २५० वटा फलफूलका स्टल र ३ सयवटा तरकारीका स्टल रहनेछन् । माछामासु र अन्य स्टलसमेत रहनेछन् ।

सरकारीस्तरको कालीमाटी बजार ४५ रोपनी फैलिएको छ भने बालाजु तरकारी बजार २.५ रोपनीमा रहेको छ । निर्माण गरिने भनिएका चोभार केन्द्र २२ रोपनी र नौबिसे केन्द्रको क्षेत्रफल ४.५ रोपनी रहेको छ । यसअर्थमा निजी क्षेत्रले चोभारमा सञ्चालनमा ल्याउने तरकारी बजार हालसम्मकै ठूलो हुनेछ । सरकारले वर्षौंदेखि चोभारका तरकारी बजार सञ्चालनमा ल्याउने बताउँदै आए पनि हालसम्म पनि बजार निर्माण हुनसकेको छैन । सोही कारण एकमात्र तरकारीको स्रोत बजार कालीमाटी अस्तव्यस्त अवस्थामा रहेको छ । 

देशभित्र उत्पादित तरकारी तथा फलफूललाई सुनिश्चत आधार प्रदान गर्ने तथा सुलभ वितरण व्यवस्था मिलाउने उद्देश्यका साथ तत्कालीन सरकारले २०४३ सालदेखि सञ्चालनमा ल्याएको कालीमाटी तरकारी बजारले हालको तरकारी तथा फलफूलको माग धान्न सक्ने अवस्था छैन । त्यसैले निजी क्षेत्रले काठमाडौंका विभिन्न स्थानका तरकारी बजार सञ्चालनमा ल्याएको छ ।

कालीमाटीमा थोकतर्फ ४ सय ५४ स्टल रहेका छन् भने खुद्रातर्फ ६१ वटा स्टल रहेका छन् । थोकतर्फ ताजा तरकारीका ३ सय ८, आलु प्याज ९१, माछा २७, फलफूल १५ र मसलाजन्य १३ वटा स्टल रहेका छन् । खुद्रातर्फ भने ताजा तरकारी ४६, आलु प्याज १२ र न्यू ३ वटा स्टल रहेका छन् । सेवामूलकतर्फ ५० वटा स्टल रहेका छन् । जसमा बीउबिजन २, दुग्ध तथा दुग्धजन्य पदार्थ १, चमेनागृह ५ र गोदाम ४० वटा रहेका छन् । त्यस्तै कार्यालयतर्फ बैंक १, सहकारी संस्था २, संघसंस्था ३ र र विषादी अवशेष द्रुत विश्लेषण इकाइ १ रहेका छन् ।

वार्षिकरूपमा कालीमाटीमा झण्डै ३ लाख मेट्रिकटन तरकारी भित्रिने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा २ लाख ८३ हजार ८ सय ९२ मेट्रिकटन तरकारी भित्रिएको थियो भने चालु आवको माघ २१ गतेसम्म कुल १ लाख ५२ हजार २ सय ६० मेट्रिकटन तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । उक्त बजारमा दैनिक ७ सय ५० देखि ८ सय मेट्रिकटन तरकारी भित्रिने गरेको छ भने दैनिक ४ देखि ५ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको पनि समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिएका छन् । कुल तरकारीमध्ये ४१.४० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको छ भने करिब ६० प्रतिशत नेपाल विभिन्न जिल्लाबाट आपूर्ति हुने गरेको छ । 

काभ्रेबाट सबैभन्दा १०.३४ प्रतिशत तरकारी आपूर्ति हुने गरेको छ भने धादिङबाट ९.७६ प्रतिशत, चितवनबाट ६.१६ प्रतिशत, भक्तपुरबाट ५.३५ प्रतिशत, काठमाडौंबाट ४.९८ प्रतिशत, मकवानपुरबाट ७.७२ प्रतिशत तरकारी आपूर्ति हुने गरेको छ । सर्लाहीबाट ३.९४ प्रतिशत, नुवाकोटबाट १.४५ प्रतिशत, ललितपुरबाट १.१९ प्रतिशत, दोलखाबाट १.१३ प्रतिशत तरकारी आपूर्ति हुने गरेको छ । त्यस्तै तनहुँ, सुनसरी, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, पर्सा, नुवाकोट, नवलपरासी, मोरङ, गोरखा, झापा र वाराबाट पनि केही तरकारी आपूर्ति हुने गरेको छ । कुल हिस्सामध्ये ८५.९३ प्रतिशत तरकारी, ७.९७ प्रतिशत फलफूल, ४.१७ प्रतिशत मसलाजन्य, १.४८ प्रतिशत माछा र ०.४४ प्रतिशत अन्य वस्तु रहेका छन् । 


Views: 80