8th April | 2020 | Wednesday | 11:38:20 AM

खरिद ऐन संशोधनमा निर्माणकर्मीकोे प्रतिनिधित्व दाबी

हिमालय टाइम्स   POSTED ON : चैत्र ५, २०७६ (११:०७ AM)

खरिद ऐन संशोधनमा निर्माणकर्मीकोे प्रतिनिधित्व दाबी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसँग भेट गरी सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । 

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायसँग सम्बन्धित ऐन÷नियम निर्माण व्यवसायमैत्री तथा विकास निर्माणमैत्री नहुँदा विकास निर्माण क्षेत्रमा देशले फड्को मार्न नसकेको भन्दै नेम्बाङको ध्यानाकर्षण गराएको छ ।  महासंघको सुझाबअनुसार सार्वजनिक खरिद ऐन २०६३ परिमार्जन गर्ने कार्यमा महासंघकोसमेत अनिवार्य प्रतिनिधित्व गराउन सम्बन्धित निकायमा आवश्यक पहल गरी दाआग्रह गरेको छ । जवाफमा मन्त्री नेम्बाङले समस्या समाधानका लागि सरोकारवाला निकायमा जानकारी गराइने आश्वासन दिएको महासंघले जनाएको छ । 

पूँजीगत खर्चतर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसाय क्षेत्र समग्र विकासले मात्र नेपाल सरकारको ‘समृद्घ नेपाल, सुखी नेपाली’को परिकल्पना साकार भई देश विकास हुन सक्ने महासंघको भनाइ थियो । 

विगत केही समययता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण उपकरणमा अज्ञात समूहबाट बारम्बार भइरहेको शृंखंलाबद्ध आक्रमण तथा आगजनीका घटनाबारे महासंघले मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएको छ । विविध चुनौती बाबजुद निर्माणमा अहोरात्र खटिने व्यवसायीलाई पेशाबाटै पलायन गर्नेगरी भएको आततायी घटनाका निन्दा गर्दै दोषीमाथिक कारबाही तथा क्षतिपूर्तिको मागसमेत गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, उपमहासचिव नरहरि थपलिया, कार्य समिति सदस्य उज्जल गौतम, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीललगायतको सहभागिता थियो ।


Views: 54