8th April | 2020 | Wednesday | 11:39:21 AM

कृषिमन्त्रीका ५ बुँदे कार्ययोजना : ६ हजार कृषि प्राविधिक तत्कालै भर्ना

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७६ (१०:२४ AM)

कृषिमन्त्रीका ५ बुँदे कार्ययोजना : ६ हजार कृषि प्राविधिक तत्कालै भर्ना

काठमाडौं । ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नाराका साथ कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको विकासका लागि भन्दै ५ बुँदे कार्ययोजना अघि सारेका छन् । उनले हालसम्म करिब २ दर्जन सुधार कार्यक्रम सम्पन्न गरेको फेहरिस्तसमेत प्रस्तुत गरेका छन् । मन्त्रालय सम्हालेको ४ महिना पुगेको दिन मन्त्री भुसालले ४ महिनाको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गरेका हुन्

उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविध सेवा–टेवा, सस्तो र सुलभ ऋण, वाली तथा पशुपक्षी बीमा र न्यूनतम बचतको ग्यारेण्टी रहेको छ ।

उत्पादन सामग्रीमा अनुदानतर्फ सरकारले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ÷नश्ल, मल, सिँचाइ, विद्युत्लगायत उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने र अनुदान सर्वसुलभ बनाइने मन्त्री भुसालले बताएका छन् । त्यस्तै, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवातर्फ हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिनेछ । स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी हाल रिक्त करिब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने पनि उनले बताए । सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको विद्यामान अवस्थालाई अन्त्य गर्दै हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने पनि कार्ययोजनामा उल्लेख छ । 

कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु-याउने ग्यारेण्टी गरिने र प्राकृतिक प्रकोप तथा अन्य भवितव्यबाट कृषि बाली–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिने पनि कार्ययोजनामा उल्लेख छ । त्यस्तै किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ । 

मन्त्री भुसालले उल्लिखित नीतिगत आधारको प्रस्थान विन्दु र गन्तव्य किसान, फेरि पनि किसान नै हुने बताए । अब, उपलब्धि कति किसानलाई उल्लिखित कृषि उत्पादन व्यवस्थाभित्र ल्याइयो भन्ने कुरामा आधारित हुने पनि उनले बताए । 

नीतिगत आधारको कार्यान्वयन र अभ्यासको नेतृत्व संघीय, प्रादेशिक र स्थानीय सरकारले सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा गर्ने बताइएको छ । नीति, कार्यक्रम र बजेट एवं वैदेशिक सहयोग तथा समस्त भौतिक तथा मानवीय साधन–स्रोत उल्लिखित उद्देश्य प्राप्तिका लागि केन्द्रित गरिने पनि मन्त्री भुसालले स्पष्ट पारेका छन् । परिणामस्वरूप कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतकोे भागिदार छ भन्ने कुरा ग्यारण्टी हुनेछ । संरक्षित कृषि, सुनिश्चित बचतको अवस्था रहनेछ । सानो भूस्वामित्वको बहुलताका कारण कृषि उत्पादनको नयाँ व्यवस्थामा कृषि सहकारी वा सहकारिता, निजी क्षेत्र र किसान नै हुने पनि उनले बताए । सहकारी र निजी क्षेत्रको भूमिका र विकासको लागि उपयुक्त व्यवस्था गर्ने जिम्मा सरकारले लिने उनले बताए । उनले पछिल्लो ६० वर्षको योजनाबद्ध कृषि विकासका अनुभव समेटेर आफूले मन्त्रालयमा काम गरिरहेको र मन्त्रालय सम्हालेपछि गहिरो अध्ययन गरेर कृषिको दीगो विकासमा योजनाबद्ध काम थालेको दाबीसमेत गरेका छन् ।  मन्त्रालय सम्हाल्नेको लामो समय वितिसक्दा पनि कृषि मन्त्रीले केही काम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।


Views: 72