8th April | 2020 | Wednesday | 11:23:33 AM

आपूर्तिमा समस्या आउन नदिने व्यवसायीको प्रतिबद्धता

हिमालय टाइम्स   POSTED ON : चैत्र ७, २०७६ (१२:४२ PM)

आपूर्तिमा समस्या आउन नदिने व्यवसायीको प्रतिबद्धता

काठमाडौं । कोरोना भाइरसको सन्त्रास देखाउँदै व्यवसायीकै कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या देखिन थालेको भन्दै चोतर्फी आलोचना भइरहेकोमा व्यवसायीले भने आपूर्ति आउन नदिने प्रतिबद्धता जनाएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले अप्ठ्यारो बेला सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको हो । संघको एक प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोरोना भाइरसले सिर्जना गरेको विद्यामान प्रतिकूल अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो । कोरोना भाइरस रोगको विश्वव्यापी संक्रमणका कारण आपूर्ति चेन बिग्रन सक्ने सम्भावनालाई मध्यनजर गरी संघले आफ्ना सम्पूर्ण सदस्यलाई सजग रहन तथा मर्यादित कारोबार गर्न निर्देशनसमेत दिएको विभागका महानिर्देशक सुवेदीलाई जानकारी गराएको छ । 

संघले कालोबजारी र कृत्रिम अभाव रोक्न पनि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष सुनिलकुमार वंशल नेतृत्वको प्रतिनिधिमण्डलले बजार अनुगमनलाई चाडपर्व र अप्ठ्यारो परेको बेलामात्र सीमित नराखी नियमित बनाउन पनि विभागलाई आग्रह गरेको छ । वाणिज्य विभाग व्यापारीको अभिभावक बन्नुपर्नेमा जोड दिँदै प्रतिनिधिमण्डलले पुनर्निकासी, भारतबाट प्राप्त पाम आयल निकासीको कोटा सीमित व्यवसायीको हातमा पुगेको, कालोबजारी र एजेन्सी ऐन धेरै पुरानो भएका कारण सिर्जित समस्याबारे ध्यानाकर्षण गराएको थियो । त्यस्तै हार्मोनाइज्ड सिष्टम कोडका कारण साफ्टा सुविधा लिनमा भएको कठिनाइका बारेमासमेत विभागको ध्यानाकर्षण गराएको छ । विभागका महानिर्देशक सुवेदीले संघले उठाएका वास्तविक चासोका विषयलाई सम्बोधन गर्ने आश्वासन दिएको संघले जनाएको छ । नीतिगत सुधार गर्नुपर्ने विषयमा गहन अध्ययन गरी समयसापेक्ष र वैज्ञानिक सुझाव पेस गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे । महानिर्देशक सुवेदीले आयात–निर्यात क्षेत्रमा गर्नुपर्ने सुधारबारे सबै व्यवसायी तथा विभागलगायत सरोकारवाला निकायका अधिकारीलाई सहभागी गराएर बहृत् अन्तक्र्रिया कार्यक्रम राख्नुपर्ने आवश्यकता औंल्याएको पनि संघले जनाएको छ । प्रतिनिधिमण्डलका संघका उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की र सदस्य गौरव शारडा, आकाश गोल्छा, रामचन्द्र खेतान, विष्णुकुमार जोशी, प्रभात सर्राफ र रमेशकुमार थापाको सहभागिता रहेको महासचिव मदन मित्तलले जानकारी दिएका छन् ।


Views: 55