3rd July | 2020 | Friday | 4:14:26 AM

हवाई भाडामा ३० प्रतिशतसम्म छुट

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:४२ AM)

हवाई भाडामा ३० प्रतिशतसम्म छुट

काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई भाडा घटाएका छन् । वायु सेवा सञ्चालक संघ नेपालले सरकारले तोकेभन्दा २० देखि ३० प्रतिशतसम्म भाडामा छुट दिने प्रतिबद्धता जनाएको छ । यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाइएको संघले जनाएको छ । नयाँ भाडादर अनुसार काठमाडौं–विराटनगरको अधिकतम भाडादर ५ हजार ५ सय रुपैयाँ रहेको छ । यसअघिको भाडादर ७ हजार ८ सय ७८ रुपैयाँ रहेको थियो । त्यस्तै काठमाडौं–भैरहवाको अधिकतम भाडादर ४ हजार ९ सय रुपैयाँ रहेको छ, यसअघि ६ हजार ७ सय ८१ रुपैयाँ रहेको थियो । त्यस्तै काठमाडौं–नेपालगंजको भाडादर ६ हजार ३ सय रुपैयाँ रहेको छ, यसअघि १० हजार ६ सय २० रुपैयाँ रहेको थियो । काठमाडौं–भद्रपुरको भाडादर ६ हजार २ सय रुपैयाँ रहेको छ, यसअघि ९ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस्तै, काठमाडौ–धनगढीको भाडादर ७ हजार ९ सय रुपैयाँ रहेको छ, यसअघि १४ हजार १ सय २५ रुपैयाँ रहेको थियो भने काठमाडौं–पोखराको भाडादर ३ हजार ७ सय रुपैयाँ रहेको छ । यसअघि ५ हजार २ सय ७२ रुपैयाँ रहेको थियो । त्यसैगरी काठमाडौं–राजविराजको भाडादर ४ हजार २ सय रुपैयाँ रहेको छ, यसअघि ६ हजार ५ सय ४० रुपैयाँ रहेको थियो । उल्लिखित भाडादर चैत २१ गतेसम्म सरकारले लामो दूरीका सडक यातायात रोकेको अवधिका लागिमात्र लागु हुने पनि संघले स्पष्ट पारेको छ । हवाई सेवा सञ्चालनको कुल खर्चको ४० प्रतिशत हिस्सा इन्धनको हुन्छ । विद्यमान विषम परिस्थितिमा नेपाल आयल निगमले हवाई इन्धनमा न्यूनतम मूनाफा लिई विश्वबजारमा घट्दै गएको हवाई इन्धनको मूल्यअनुसार बिक्री गरे हवाई भाडा स्वतः घट्न गई यात्रुले पनि सुविधा पाउने र वायु सेवा कम्पनीका प्रवक्ता योगराज कँडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका छन्् । 

कोरोनाको सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेको छ । वायु सेवा कम्पनीले मनोमानीरूपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनर्विचार गरिदिन आग्रह गर्नुभएको थियो । सोही आग्रहअनुसार वायुसेवा कम्पनीले नयाँ भाडादर कायम गरेका हुन् ।

कोरोनाबाट बच्ने उपाय अपनाउँदै बुद्धले काठमाडौंलगायत सबै स्टेशनबाट यात्रुको तापक्रम मापन, १ सयभन्दा बढी तापक्रमका यात्रुलाई सुरक्षित साथ अफलोड तथा भाडा फिर्ता गरिँदै आएको जनाएको छ । श्री एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सहुलियत दरमा हवाईजहाज यात्राको व्यवस्था मिलाइएको जनाएको छ । आइतबार अन्तर्राष्ट्रिय उडान बन्द हुने र सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात पनि बन्द हुने भएपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक उडानमा यात्रु बढे पनि व्यवसाय भने सन्तोषजनक नरहेको एयरलाइन्सले जनाएका छन् । विदेशी हवाई यात्रु नभएकाले आन्तरिक उडानमा झण्डै ४० प्रतिशत गिरावट आएको छ भने हेलिकप्टर कम्पनीको पनि व्यवसाय प्रभावित भएको छ ।


Views: 140