29th May | 2020 | Friday | 3:36:58 PM

आइतबारदेखि बैंकका सबै शाखा खुल्ने

हिमालय टाइम्स   POSTED ON : बैशाख २७, २०७७ (९:३१ AM)

आइतबारदेखि बैंकका सबै शाखा खुल्ने

काठमाडौं । आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आइतबारदेखि कोरोना संक्रमणविरुद्ध आवश्यक सावधानी अपनाउँदै बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका हुन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी भएको हो ।

‘लकडाउन’को यो अवधिसम्म बैंकहरूले आफ्ना शाखामा आलोपालो सेवा दिँदै आएका थिए । 

शेयर बजार पनि खुल्ने

नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलबाट दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी शेयर बजार सञ्चालनको व्यवस्था मिलाउने गरी आवश्यक तयारी भइरहेको जनाइएको छ ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ । 

नेप्से परिसूचक दुई प्रतिशतले घटबढ भएमा सो दिनको कारोवार बन्द गरिने, धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएबमोजिमको लगानीकर्ताबाट अनिवार्यरुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाईका साथ लागू गर्ने र लगानीकर्ताको गुनासा सुन्ने तथा समाधान गर्ने सम्बन्धमा ‘हेल्प डेस्क’को प्रबन्ध गरिनेछ । 

राष्ट्रिय समाचार समितिका अनुसार धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोवारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । 


Views: 91