29th May | 2020 | Friday | 2:57:19 PM

७९ अर्बको निर्यात हुँदा ९ खर्बको आयात

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७७ (९:२४ AM)

७९ अर्बको निर्यात हुँदा ९ खर्बको आयात

काठमाडौैं । चालु आर्थिक वर्ष २०७६-७७ को ९ महिनामा कुल व्यापारघाटा ८.९ प्रतिशतले संकुचन भई ९०३ अर्ब ७२ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले वृद्धि भएको थियो । तथापी करिब ७९ अर्बको निर्यात हुँदा करिब ९ खर्बभन्दा बढीको आयात भएको छ ।

नेपाल राष्ट बैंकले जारी गरेको चैतसम्मको प्रतिवेदनअनुसार ९ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९८२ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो । ९ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जनलगायतको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचाको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जाको आयात बढेको छ भने पेट्रोलियम, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्टलगायतको आयात घटेको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ४ प्रतिशतले कमी आई ६२६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो २०.९ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ६.७४ प्रतिशत

चालु आर्थिक वर्ष २०७६÷७७ को चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति ९.६८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरूमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति थियो । 

२०७६ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८ प्रतिशत थियो । उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ । 

आर्थिक वृद्धि २.३ प्रतिशत

आर्थिक वर्ष २०७६÷०७७ मा २.३ प्रतिशत आर्थिक वृद्धि रहने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । कोरोनाका कारण समीक्षा वर्षमा आर्थिक वृद्धि न्यून रहने देखिएको हो । खानी तथा उत्खनन, उत्पादन, निर्माण, होटेल तथा रेष्टुरेन्ट एवम् यातायात उपक्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धि २.६ प्रतिशत, उद्योग क्षेत्रको ३.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि २.० प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६÷०७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६ प्रतिशत, १४.३ प्रतिशत र ५८.१ प्रतिशत रहने अनुमान छ । प्रदेशगत रुपमा हेर्दा आर्थिक वर्ष २०७६÷७७ मा सुदूरपश्चिम प्रदेशको सबैभन्दा वढी ४.१ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३५.८ प्रतिशत एवम् कर्णाली प्रदेशको सबैभन्दा न्यून ४.३ प्रतिशत रहने अनुमान छ ।


Views: 79