8th July | 2020 | Wednesday | 7:42:39 AM

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

कोरोनाको प्रभाव न्यूनीकरणमा जोड

हिमालय टाइम्स   POSTED ON : जेठ १४, २०७७ (९:४७ AM)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

काठमाडौ । नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले अर्थतन्त्रमा कोरोनाको प्रभाव न्यूनीकरणमा जोड दिएको छ ।विगत तीन वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएको अवस्थामा चालु आर्थिक वर्षसमेत सोही प्रवृत्ति कायम रहने प्रक्षेपण रहे पनि कोरोनाका कारण अर्थतन्त्रमा धक्का लागेको छ । राष्ट्र बैंकले कुल ग्रार्हस्थ्य उत्पादनमा १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ । २०७६ चैतदेखि २०७७ वैशाखसम्ममा ७ अर्ब १६ करोडको निर्यात र १०० अर्ब ९० करोड रुपैयाँको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र २२९ अर्ब ३ करोडको आयात भएको थियो । 

२०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा करिव ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन र २२ अर्ब कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंकिङ प्रणालीमा सुविधाजनक तरलता रहेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत १ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको हो ।

२०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरूबीच १५३ अर्ब २० करोड र वित्तीय संस्थाहरूबीच (बाणिज्य बैंकहरूबीच बाहेक) ८ अर्ब ३ करोड अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकबीचको अन्तरबैंक कारोबार दर २०७६ चैतमा २.१३ प्रतिशत रहेकोमा २०७७ बैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

कोरोना संक्रमण रोकथाम गर्न चालिएका कदमबाट अर्थतन्त्रमा पर्न गएको असरलाई दृष्टिगत गरी तरलतालाई थप सहज बनाउने र ब्याजदर कटौती गर्ने उद्देश्यले राष्ट्र बैंकले गत चैत १६ मा अनिवार्य नगद अनुपात, बैंकदर र रिपोदरमा कटौती गरेको थियो । कोरोना कारण प्रभावित भएका तर तोकिएका क्षेत्रका ऋणीबाहेकका लागि २०७६ चैतमा कायम ब्याजदरमा आधार दरभन्दा कम नहुने गरी २ प्रतिशतले कम गरी चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

व्यवस्थाअन्तर्गत खुद्रा लघुवित्त कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले ३ प्रतिशत र थोक कर्जा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले २ प्रतिशतले कम गरी ब्याजदर गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । । उत्पादनमुलक तथा प्राथमिकताप्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धि गरी ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रुपमा वढाउँदै लैजाने नीति लिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०१९ मा १.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ६.१ प्रतिशतले संकुचन हुने प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्र सन्२०१९ मा ३.७ प्रतिशतले वृद्धि भएकोमा सन्२०२० मा १ प्रतिशतले घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

उदीयमान तथा विकासशील अर्थतन्त्रहरूमा उपभोक्ता मुद्रास्फीति सन् २०१९ को ५ प्रतिशतको तुलनामा सन् २०२० मा ४.६ प्रतिशत रहने प्रक्षेपण छ । कोरोनाको महामारीबाट मानवीय क्षति हुन नदिन अपनाइएको बन्दाबन्दीका कारण अन्य मुलुकहरू झैं नेपालको पनि उत्पादन, वितरण तथा आपूर्ति प्रणाली प्रभावित भएको छ ।


Views: 134

सम्बन्धित सामग्री: