8th July | 2020 | Wednesday | 7:22:23 AM

कर तिर्ने म्याद थप

हिमालय टाइम्स   POSTED ON : जेठ २२, २०७७ (१०:०८ AM)

कर तिर्ने म्याद थप

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले करदातालाई कर तिर्न दिएको म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म कर बुझाउन भनेको छ । मंगलबार विभागले जेठ २५ सम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए ।

सरकारले लकडाउन नखुलाएसम्म कर तिर्न नसकिने भन्दै उनीहरू आक्रोशित बनेका थिए । त्यस लगत्तै मन्त्रालयले व्यवसायीहरूसँग छलफल गरी करको अवधि बढाउने सहमति गरेको हो । 

उद्योग वाणिज्य महासंघको टोली र अर्थसचिव शिशिर ढुंगानाबीच भएको छलफलपछि कर भुक्तानी गर्ने मिति परिवर्तन गर्ने सहमति भएको हो । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीकाअनुसार कर भुक्तानी विषयमा छलफल गर्न व्यवसायीहरू आएको र तोकिएको मितिलाई केही पर लाने सहमति जुटेको हो । आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गर्न भनेको थियो ।

विभागले जारी गरेको सूचनाअनुसार अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनुपर्नेछ । तर सरकारले जेठ २० सम्मको लकडाउनलाई पुनः लम्ब्याउँदै जेठ मसान्तसम्म पु¥याएपछि करदाताले विरोध गरेका थिए । यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नुपर्नेछ । यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ । तर यो सूचना जारी भएपछि चौतर्फी विरोध आएको थियो ।

व्यवसायीहरूले व्यवसाय नै ठप्प रहेको अवस्थामा कर भुक्तानी गर्न नसकिने बताउँदै आएका छन् । उद्योग वणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कमर्स सबैले विज्ञप्ति जारी गर्दै सरकारको अनुचित कदम भनेका छन् । त्यस लगत्तै आन्तरिक राजस्व विभागले सूचना जारी गरी जेठ २५ मा तिर्नुपर्ने यसअघि तोकिएको कर भुक्तानीको नयाँ मिति सार्वजनिक गरेको छ । विभागले अब असार ७ गतेलाई कर भुक्तानी गर्ने दिन तोकेको हो । 

नयाँ सूचना अनुसार करदाताले चैतमा बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्नेछ । मूल्य अभिवृद्धि करको हकमा फागुन, चैत्र र २०७७ वैशाख महिनाको मासिक कर विवरण, माघ–फागुन र चैत २०७७ वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ । भ्याट फिर्ताको लागि कर फिर्ताको निवेदन दिन पाउने अवधि लकडाउन कै बखत समाप्त भएमा असार ७ सम्म बुझाउनुपर्ने हुन्छ । फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद  ७ गतेसम्म छ । फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म राखिएको छ । वैशाखको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर बुझाउने म्याद पनि असार ७ गतेसम्म छ ।  

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आहृवान गर्नुभएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेपछि सभापति देउवाले कर नतिर्न आग्रह गर्नुभएको हो । उहाँले बुधबार विज्ञप्ति जारी गरी लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाउनुभयो । 

देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गर्न पनि माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रवन्ध गर्न सरकार विलकुल गम्भीर भएन । तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो ।’ 


Views: 52

सम्बन्धित सामग्री: