8th July | 2020 | Wednesday | 7:03:17 AM

हालसम्म ८ खर्ब २७ अर्ब खर्च

हिमालय टाइम्स   POSTED ON : जेठ २४, २०७७ (११:१६ AM)

हालसम्म ८ खर्ब २७ अर्ब खर्च

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया गरेको छ । सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शी बनाउने र हालको अवस्थाका विषयमा भएको उक्त छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेशप्रसाद शिवाकोटीको सहभागिता थियो ।

महालेखा नियन्त्रक मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकशील मन प्रयोग गर्नुपर्ने बताउनुभयो । सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गर्दै उहाँले पहिलो गोपनियतालाई प्राथमिकता दिने गरेकोमा अहिले पारदर्शितालाई प्राथमिकता दिने गरिएको बताउनुभयो । उहाँले विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको बताउनुभयो । 

चालु आर्थिक वर्षको जेठ २१ गतेसम्मको तथ्यांकअनुसार सरकारको कुल प्राप्ति ६ खर्ब ८२ अर्ब ५७ करोड रहेको कार्यालयले जनाएको छ । कुल प्राप्तिमा करतर्फबाट ५ खर्ब ७० अर्ब, गैरकर ५७ अर्ब र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको मैनालीले जानकारी दिनुभयो । यो लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत हो ।

हालसम्म ८ खर्ब २७ अर्ब कुल खर्च भएको छ । त्यसमध्ये ६ खर्ब २२ अर्ब चालु र १ खर्ब २० अर्ब पुँजीगत रहेको छ भने वित्तीय व्यवस्थातर्फ ८४ अर्ब खर्च भएको छ । 

कार्यक्रममा पूर्व महालेखा नियन्त्रक प्रधानले बजेट बनाउँदा कार्यान्वयनको समेत प्रभावकारी योजना बनाइए खर्च हुन कुनै समस्या नहुने बताउनुभयो । उहाँले  सार्वजनिक खरिद योजनालाई प्रभावकारी ढंगले परिचालन गरिनुपर्नेमा जोड दिनुभयो । पेफाका संयोजक शिवाकोटीले पेफा सचिवालयबाट विभिन्न ९ वटा निकायमा सुधारको काम गरिरहेको बताउनुभयो । उहाँले बजेट र राजस्व, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्टिय योजना आयोगलगायत ९ निकायमा सुधारका लागि समन्वयको काम भइरहेको जानकारी दिनुभयो ।

महालेखा नियन्त्रक मैनालीले हालसम्म कोरोना रोग उपचार, रोकथाम तथा नियन्त्रणका लागि ९ अर्ब ८६ करोड खर्च भएको बताउनुभयो । संघीय कोरोना कोषमा २ अर्ब २१ करोड रुपैयाँ संकलन भएको, प्रदेश कोरोना कोषमा १ अर्ब ९९ करोड र स्थानीय तहमा ४ अर्ब रुपैयाँ जम्ममा भएको उहाँले जानकारी दिनुभयो ।


Views: 77

सम्बन्धित सामग्री: