18th February | 2019 | Monday | 4:19:32 PM

त्यो दिन म किन रोएँ ?

निनाम लोवात्ती कुलुङ   POSTED ON : Saturday, 03 June, 2017 (10:33:20 AM)

त्यो दिन म किन रोएँ ?

हो, २०५० जेठ ४ गते बिहानै एक दैनिक पत्रिकामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी मुग्लिन–नारायणगढ सडक खण्डबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको समाचार पढ्नेबित्तिकै म रोएको (भक्कानो छाडेर ग्वाँ–ग्वाँ नरोए पनि आँसु झारेको) थिएँ । हुन पनि त्यो बेला म राजनीतिक रुपमा परिपक्व थिइन । म नेकपा एमाले समर्थक थिएँ । वास्तवमा म धेरैपछिसम्म एमालेको संगठीत सदस्य त के साधारण सदस्य पनि थिइन । तापनि म कट्टर एमाले थिएँ ! त्यसैले त त्यो बेला एमालेनिकट साप्ताहिक पत्रपत्रिकाहरु नबिराई पढ्थेँ । जे होस्, एक किसिमले भन्ने हो भने, म आपूm स्वयम् नै लगाम लगाएको घोडासरह नेकपा एमालेबाहेक अरु कुनै राजनीतिक पार्टी देख्दिन थिएँ ! कसैले नेकपा एमाले र एमालेका कुनै नेताको आलोचना वा विरोध गरेको सुनेमा तिनीहरुलाई कुटौं झैं लाग्थ्यो !

      यस विषयमा अहिले पनि एउटा रोचक प्रसंगको याद आउँछ । ओखलढुंगाका काँग्रेस नेता महेश कोर्मोचा दाइसित एक पटक कुराकानी हुँदाको प्रसंग हो । लक्ष्मी भाउजु       (उहाँको निधन भइसकेको छ)ले काठमाडांैको खिचापोखरीमा चलाएको ‘लक्ष्मी लज’मा काम गर्दा ताका एकदिन मैले ‘सुझो न बुझो टिकी ट्याँस–ट्याँस’ भनेझै र, कति नै जान्ने सुन्ने भएझैं गरेर प्रसंगबस नेपाली कांग्रेसलाई तथानाम गाली गरँे ! यो सुनेर महेश कोर्मोचा दाईलाई सही नसक्नु भएछ क्यारे, त्यसमाथि केही नजान्ने फुच्चेले नेपाली कांग्रेस जस्तो पार्टीलाई गाली गर्ने ! मलाई हत्त न पत्त ‘ए मणि, तिमीले के राजनीति बुझेको छौं र कांग्रेसलाई गाली गर्छौ ? लु भन त, तिम्रो एमालेलेचाहिँ के गरेको छ ? अनि एमालेचाहिँ कुन गतिलो पार्टी हो ? फेरि एमालेको सिद्धान्त के हो ? तिमीलाई थाहा छ ? मु..... बेकारमा जान्ने भइटोपल्छ लु भन त..... एमालेको सिद्धान्त के हो ?’  ..... वास्तवमै म नाजावाफ भएको थिएँ । 

       तर, म त मदन भण्डारीको भाषण सुनेर न एमाले भएको थिएँ । न त मलाई त्यो बेला एमालेको सिद्धान्त र विचार के हो भन्ने नै थाहा थियो, न त एमाले कस्तो पार्टी हो भन्ने नै थाहा थियो ? रपनि म पक्का एमाले थिएँ ! पछि त ललितपुर उपमहानगर पालिका (हाल महानगरपलिका) को १४ नम्बर वडामा संगठित भएरै एमालेमा लागियो । कतिसम्म भने, २०५४ को स्थानीय निर्वाचनमा देवराज राईलाई एमालेको तर्फबाट १४ नम्बर वटाबाट जिताऊन महत्वपूर्ण भूमिका मैले नै खेँले ! त्यो कसरी भने, नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारभन्दा विद्रोही उम्मेदवार जो केसी थरका थिए, उनी तगडा थिए । एक त २०४९ को स्थानीय निकायको निर्वाचनमा पनि उनैले जितेका थिए भने विद्रोही उम्मेदवार भएर उठेका भए तापनि फेरि पनि उनैले जित्ने पक्का जस्तै थियो । 

       निर्वाचन हुने दिन बिहानैदेखि मतदान हुने स्थान उमामहेश्वर स्कूलमा चहलपहल सुरु भयो । स्वतन्त्र प्यानलबाट सदस्यमा उठेकी महिला सदस्यलाई दिउँसो हामीले गरेको कडी कडाऊ मन परेको थिएन । एक त उनीहरुले स्थानीयताको धाक–धक्कु लगाएका थिए भने हामीलाई बाहिरीया भन्थे । दिउँसो हामीले गरेको कडी कडाऊकै बेला ती महिला उम्मेदारले भरे हेरौंला भनेकी थिइन । नभन्दै  मतदान सकिने बेलामा स्वतन्त्रबाट उठेकी ती महिलाले गुन्डाहरुलाई हामीमाथि आक्रमणको संकेत गरिन् कि क्या हो ! हेर्दा बच्चा जस्तो लाग्ने फुच्चे केटाहरुले आक्रमण गरिहाले । तर, म सिधै मतदान भइरहेको स्थल उमामेश्वर स्कूलको ग्राउन्डतिर हाम फालेँ । अर्को एक केटा भने स्कूलको पूर्वतर्फको चौरतिर भागेछन् । गुन्डा केटाहरुले लखेटेर शरीरमा जताभावी छूरा हानेछन् । अहिले सम्झँदा दुःख लाग्छ । म त लाटो भए पनि मतदान भएतिरै हाम फालेको हुनाले सुरुमा हानेको एक मुक्काको चोट आँखामा लागेको बाहेक केही भएन (हालसम्म पनि उक्त चोटको निशानी छ) । तर, पर्सिपल्ट हङकङ जानु पर्ने आईडीवाला राई केटोलाई अर्थ न बर्थको राजनीतिको भूत चढेपछि के गरोस् ! प्यारालाईसिस नै भएर बाँचेका थिए÷बाँचेका छन् । यसरी उनको सुन्दर भविश्य नै डाँमाडोल भयो । हुन त उक्त घटनापछि बल्लतल्ल ५ हो वा ७ भोटले एमालेका उम्मेदवार देवराज राईले जिते । (उनी संघीय समाजवादी नेपालमा लागेर २०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा खोटाङबाट संघीय समाजवादी पार्टीको उम्मेदवार पनि भएका थिए भने हाल उनी संघीय समाजवादी फोरममा छन् क्यारे !) हुन पनि केसीहरुले उखरमाउलो गरी स्थानीयताको नारा उचालेका थिए । त्यतिमात्रै होइन, देवराजको घर खोटाङ हो, १४ नम्बर वडामा उसको घर त के घडेरीसमेत छैन भनी हौवा फैलाएका थिए । तर, उनीहरुले नै गरेको गुन्डागर्र्दीपछि मतदान गर्न लाईनमा बाँकी रहेका १२÷१५ जना मध्ये अधिकांँशले जो धेरै जसो केसी मतदाता ठानिएको थियो, उनीहरुले केसीको भोट राईतिर सहानुभूति स्वरुप हालेछन् । यसरी हामी दुईजना जिउँदो सहिदमा दरियौं भने देवराज राईले वडा अध्क्षय जिते । नत्रभने अरु सदस्यमा एमालेले जिते पनि वडा अध्यक्षमा सजिलै केसीले जित्नेवाला थिए । जे होस्, पछिसम्म देवराजले मलाई जहाँ देखे÷भेटे पनि ‘जिउँदो सहिद कमरेड’ भनी सम्बोधन गर्थे । 

     अर्को, म एमाले हुनुको कारण २०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारले गरेको केही सुधारात्मक कामहरुले गर्दा पनि हो । तर, मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारको पालामा एमालेका नेताहरुले सत्ताको चास्नी यस्तरी चाखे कि, उनीहरुका लागि दुलोमा लुकेर बस्नु पर्ने पञ्चहरुसँग मिलेर सत्ता सहकार्य नगरी नहुने भो ! जसरी पनि सत्तामा जानैपर्ने भो । नत्रभने एमालेका नेताहरुका लागि आकाशै खस्ने भो ! धरती नै फाट्ने भो ! त्यो बेला केन्द्रबाट एमाले किन लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा संयुक्त सरकारमा जानुपर्ने ? त्यसरी जाँदा केके फाइदा हुन्छ ? आदि बारे कार्यकर्तालाई बुझाउन÷प्रशिक्षण दिन आएका नेता सुरेन्द्र पाण्डेलाई ‘होइन, दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरुलाई प्रधानमन्त्री दिएर कसरी सरकारमा जाने ?’ भनी यो पङ्ंतीकारले प्रश्न गर्दा ‘पञ्चहरुमा पनि उदारवादी र अनुदारवादी छन् । बामदेव कमरेडले गृहमन्त्री पाउँछन् । गृहमन्त्री आफ्नो पार्टीको भएपछि स्थानीय चुनावमा ६० प्रतिशतभन्दा बढी सिट जित्न सकिन्छ । स्थानीय सत्ता कब्जा गर्नका लागि पनि चन्दलाई प्रधानमन्त्री बनाउनै पर्ने’ आदि तर्क गरेका थिए सुरेन्द्र पाण्डेले । नभन्दै त्यस्तै भयो । त्यसपछि गिरिजाप्रसाद कोइरालाले पनि अनुदारवादी खेमाका दरबारिया भनी चिनिएका सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । 

     यसरी एमालेको जसरी पनि सत्तामा जानै पर्ने, सत्ता कब्जा गर्नै पर्ने नीति हेर्दा÷सम्झँदा त्यो बेला बेकारमा रोइएछ ! झैं लाग्छ । हुन त यस मामलामा मदन–आश्रितद्वयको के दोष र ? सायद उनीहरु जीवितै रहेको भए एमाले पार्टी र पार्टीका  नेताहरुमा यो हदसम्मको सत्ताको भोक लाग्न दिँदैन थिए कि ! अनि हालै सकिएको पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा काठमाडौ र ललितपुर महानगरको प्रमुख र उपप्रमुखमा सबैभन्दा पहिले राप्रपासँग चुनावी तालमेल गर्ने घोषणा गरेर सिम्बोलिक तालमेल गरेको भन्ने र, यसो नगरेको भए चारैतिरबाट एमालेमाथि प्रहार हुनेवाला थियो भन्ने हालका एमालेका नेताहरुलाई  माथि (स्वर्ग) बाट मदन–आश्रितले कस्तो जवाफ दिए होलान ? त्यस्तै कुनै बेला तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रहेका, प्रधानमन्त्रीसमेत भएका तथा हाल नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक रहेका डाक्टर बाबुराम भट्टराईले एमालेलाई दिएको तेस्रो लिंगीको पहिचानलाई सही मान्छन् कि मान्दैनन् होला ? 

      साथै त्यो बेला जसरी पनि महाकाली सन्धि पास गर्न खटिएका र महाकाली सन्धि पास हुनसाथ नेपाललाई वार्षिक एक खर्ब २० अर्ब आम्दानी हुने भनी नेपाल टेलिभिजनको ‘प्राईम टाइम’मा अन्तर्वार्ता दिएका र, हाल नारायणमान विजुक्छे, चित्रबहादर केसी र  कमल थापाभन्दा तीन कदम अगाडि बढेर राष्ट्रवादी कहलिएका केपी शर्मा ओलीप्रति हाल स्वर्गमा रहेका मदन–आश्रितद्वयको दृष्किोण कस्तो होला ?  



Views: 186