Date:2017/07/23 |Sunday

नेतृत्व अक्षमताको रहस्य

Posted on: July 17, 2017 | views: 1036 | डा. नवराज खतिवडा

पहिलो चरणमा निर्वाचन सम्पन्न भएको एक नगरपालिकामा फोन गरेँ । नगरप्रमुखसँग भेटको समय निर्धारण भयो । उनको मोबाइल नम्बर पनि साथमा थियो तर कार्यालय समयमा औपचारिक कामको सिलसिला हो भने सकेसम्म ल्याण्डलाइन नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता अवलम्बन गर्नु निको ठानेँ । 

‘यो नगरप्रमुखको सचिवालय हो ?’

मैले अभिवादन गर्दै सोधेँ । 

‘होइन त । सचिवालयको नम्बर अर्कै छ ।’

फोन उठाउनेले नम्बर दिए । मैलै नगरप्रमुखको सहयोगी नाम सोधेँ । दिइएको नम्बरमा फोन लगाएँ । 

उता बाट जवाफ आयो । फोन उठाउने एक पुरुष थिए । 

‘नगरप्रमुखको सहयोगी फलानालाई पाउँन ।’

मैले अघिल्लो फोनवार्तामा दिइएको नामको व्यक्ति खोजेँ । 

‘उनी त बाहिर गएकी छन् । म नगर प्रमुख बोल्दैछु । भन्नुहोस् कति कामका लागि वहाँलाई खोज्नु भो’ ।’

मेरो अनुमान विपरीत निस्कियो । मैले निचोड निकालेँ– त्यहाँ कार्यालय सचिव व्यस्त थिए तर नगरप्रमुख फुर्सदिला । कार्यालय र आफ्नो मातहतका कर्मचारीबाट आफूले गर्न चाहेको काम सम्पन्न गराउनु कार्यकारी वा नेतृत्वको प्रमुख काम हो । यसका लागि मातहतको सचिवालय चुस्त दुरुस्त हुनुपर्छ । आफैं संलग्न भएर के गर्ने के नगर्ने भन्ने विषयमा पनि प्रमुखलाई थाहा हुनुपर्छ । कुचो लगाउने, टेलिफोन उठाउने र सवारीसाधन चलाउनेजस्ता काममा आफूलाई संलग्न गराउनु क्षमताभित्रको अक्षमता हो । नेतृत्व कौशलताको यो कसी नगर प्रमुखदेखि सरकार प्रमुख सबैमा लागू हुन्छ । दुर्भाग्य ¤ इन्द्रासनमा बसेका हाम्रा कतिपय पदाधिकारीहरूले यो विषयको गाम्भीर्य बुझेको देखिँदैन । 

केही दिनअघि बिबिसी नेपालीसेवाको एक कार्यक्रममा नेपालका सम्माननीय प्रधानमन्त्रीले प्रश्नकर्तालाई हप्काए । ‘सवाल–जवाफ’ प्रकरणको भिडियो सामग्री भाइरल बन्यो । एककान दुईकान गर्दै खबरले संसार पिट्यो । टेलिभिजन हेर्न नभ्याएका दर्शकले मुलुकका प्रमुख कार्यकारीको यो लीला यु–ट्युवमा हेरे । लीला नायकले आफूले खबर जगतको खरबारीमा लगाएको आगो निभ्न नपाउँदै फेरि अर्को अनौठो हर्कत गरे । सप्तरी जिल्लामा बाढीपीडितको भेलामा लिखित मन्तव्य दिँदा एक पूर्वमन्त्रीले चढाएको ज्ञापनपत्र पढे । शासनसत्ताको बागडोर सहृमालेका नायकले लिखित भाषण पढ्दा असान्दर्भिक कुरो बोल्दैछु भन्ने भेउसमेत पाएनन् । छेउमा बसेका प्रमुख जिल्ला अधिकारीले नजिकै आएर काम बिग्रेको संकेत गरेपछि मात्र प्रधानमन्त्रीले थाहा पाए । 

बौद्धिक जमातले टिप्पणी ग¥र्यो– मुलुकका आधा दर्जन प्रदेशमा स्थानीय चुनाव सफलताका साथ सम्पन्न गरेर यश कमाएका प्रधानमन्त्री शेरबहादुर देउबाले भईपरी आएका यस्ता विधर्मी क्रियाकलापले आफ्नो कद स्वाट्टै घटाए । मैले यही प्रसंग केही दिनअघि साथीभाइको एक समूहमाझ राखेँ । 

‘केही न केही गुदी त होला शेबदेमा, नभए चारचार पटकसम्म मुलुकको बागडोर हाँक्ने पदमा कसरी पुग्थे ?’

‘नेतृत्व कौशलको के त्यस्तो चिज होला त देउबामा ?’ एक मित्रले ‘गुदी’ लाई ’कौशल’ सँग जोडे । 

कुरोमा दम छ भन्ने बुझेका मेरा दौँतरीहरूले मुखामुख गरे । उनीहरू केही बेर गम्न पुगे । 

‘मलाई थाहा छ । शेबदेसँग के छ भन्ने कुरा ।’ एकमित्रले हात उठाए । 

‘ल जाओस् । मैदान खाली छ ।’ मैले बहसको हरियो बत्ती बालेँ । 

‘डा. आरजु राणा ।’ वरिपरिका अपरिचितहरूको पनि ध्यानाकर्षण हुने गरी हाँसोको फोहोरा फुट्यो । 

यो हस्यौलीभित्र लुकेको मर्ममा अहिले नेपाली जनताको ध्यानाकर्षण भएको छ । के हाम्रा अगुवाहरूमा ‘नेतृत्व कौशल’ को बीउ नै छैन ? 

संस्मरणात्मक निबन्धका अध्येता धनुषचन्द्र गोतामेले लेखेका छन्– 

चन्द्रशमशेर, जुद्ध शमशेरजस्ता प्रधानमन्त्रीहरूले कृत्रिमरूपमा धारण गर्ने गाम्भीर्य, तनावयुक्त तमतमाउँदो अनुहार, गरिब प्रजाले टालेको सुरुवालमै तुक्र्याउने गरी झिक्ने क्रोधयुक्त चित्कारमा आफ्नो रवाफ र पदीय गरिमाको जुन नापो छाडेर गए त्यसको धङधङी आजको लोकतान्त्रिक व्यवस्थामा पनि आंशिक रूपमा विद्दमान छ ।

एउटा विदेशी सञ्चारमाध्यमले आयोजना गरेको त्यस्तो कार्यक्रममा प्रधानमन्त्री नै जान जरुरी थियो कि थिएन ? कि सरकारलाई सञ्चार संयन्त्रको प्रयोग गरी कुनै विशेष सवालमा जनमत तयार गर्ने वा आफ्नो रणनीति सार्वजनिक गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो ? के जोखिम र सम्भाव्य नकारात्मक परिणामका बारेमा रणनीतिकार वा सल्लाहकारहरूले गृहकार्य गरेका थिए ? आयोजकले प्रश्नकर्तालाई जस्तै प्रधानमन्त्रीलाई पनि अभ्यास गर्ने अवसर दिएका थिए त ? 



यो बहसमा यस्ता सर्वमान्य सिद्धान्तमा आधारित वस्तुनिष्ठ पक्षमा ध्यानकेन्द्रित गर्न अनावश्यक ठहर्छ । किनभने प्रधानमन्त्रीको सचिवालयका पदाधिकारीहरूलाई पक्कै पनि यस्ता कुराले ‘बेल पाकेर कागलाई हर्ष न विस्मात’ भएजस्तो हुन्छ । प्रधानमन्त्रीको खोपीमा पहुँच भएका लालबुझक्कड कोही भए भन्न सक्छन्– यो विदेश हो र ¤ झिनामसिना कुरामा पनि ध्यान दिनुपर्ने ?

उहिलेका प्रधानमन्त्रीहरू निरंकुश शासनसत्ताको नेतृत्व गर्थे । त्यसबेला समाचार जड भएर बसिरहन्थ्यो । अहिलेको जस्तो बिजुली गतिमा सारा संसारमा फैलिने संयन्त्रहरू थिएनन् । अहिले क्षणभरमै साराले थाहा पाउने प्रविधि छ । यस कारण शब्दमा या व्यवहारमा ‘धोती फुस्केको’ चाल नपाउने नेताका दिन गए । युवा नेतृत्वले बुझ्नुपर्ने यो अति संवेदनशील र महŒवपूर्ण कुरा हो । 

ओहोदाको उन्माद र दम्भको विधर्मी संस्कारमाथि टिप्पणी गरेका गोतामेले एकअर्को प्रसंगमा भनेका छन्– बडो प्रत्युत्पन्न बुद्धि भएको मानिसले मात्र हास्य र व्यंग्य समयानुकूल व्यक्त गर्न वा लिपिबद्ध गर्न सक्छ ।

उनले नेपालका भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भाषण गर्दाको एक रोचक प्रसँग पनि उल्लेख गरेका छन्– 

आमसभामा चश्मा पुछ्दै हाम्रा भू. पू. प्रधानमन्त्रीले सभामा बसेका सुन्दर महिलाहरूको अनुहार राम्रोसित हेर्न सकूँ, त्यसैका लागि आफ्नो चश्मा पुछ्दै छु भन्नुमा कुनै हलुकापन छैन । 

दर्शक वा श्रोतागण दुई किसिमले हाँस्छन् । एउटा देउवाले जस्तो भाषणको सट्टा ज्ञापनपत्र पढेको जस्तो अनर्थ हुन गएमा । अर्को भट्टराईले चश्मा पुछेको जस्तो परिस्थितिजन्य क्रियाकलापले विनोदी भाव सिर्जना हुन सकेमा । 

दुई वर्ष अघिको प्रसंग हो । एउटा क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका सयभन्दा बढी विद्यार्थीको अभिमुखीकरणको कार्यक्रममा सहभागी भएको थिएँ । भौतिक विज्ञानका एक प्राध्यापकले लामो भाषण गरे । उनले ‘अब म अन्तिममा यो एउटा महŒवपूर्ण कुरा भन्छु’ भन्ने वाक्य नै तीनपटक भने । लगभग तीन सयको संख्यामा उपस्थित श्रोतागणलाई केही चासो थिएन । उनको पट्यारलाग्दो प्रवचन सकियो । श्रोतागणले गडगडाहट ताली पिट्यो । ताली ‘ठूलो खड्गो काटियो’ भन्ने आशयको थियो ।

उद्घोषकले प्राध्यापकको भाषणको भव्य प्रशंसा गर्दै भने– आदरणीय सरले आफ्ना ओजस्वी अभिव्यक्तिले हामी सबैलाई ‘मुत्रमग्ध’ पारेर जानुभयो ।

सभाकक्षमा हाँसोको आँधीबेहरी आयो । उद्घोषकको जिब्रो लटपटिएर ‘मन्त्रमुग्ध’ को ठाउँमा अन्यथा हुन गएको थियो । एक त पट्यारलाग्दो भाषणको अस्वाभाविक प्रशंसा, अर्को शब्दको गोलमालले स्मरण गराएको कट्टु कित्ताको जिनिस । 

जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्नो वायु कलुषित हुन नदिई र भईपरी आएको प्रश्नले आफ्नो इन्द्रासनको रौँ पनि हल्लाउन सक्दैन भन्ने अनुभूति गरेर हलुका स्नायुले जवाफ दिनसक्नु नै राजनेताको विशेषता हो । एकातिर यो कुरा बुझ्ने राजनीति शास्त्र वा नेतृत्व विज्ञानका पण्डितहरूको अभाव छ । बुझ्नेको संख्या केही भए पनि अघिल्लो दिन तिनै नेताको भाषण पत्रिकामा पढेर भोलिपल्ट उनैलाई सल्लाह बक्सन जानेहरू छन् । अर्कोतिर नेताहरू ‘यत्रो वर्ष जेल बसेर म सर्वगुण सम्पन्न भएको छु, मैले सिक्नुपर्ने केही बाँकी छैन’ को दम्भ बोकेर हिँडेका छन् । 

केहीलाई छोडेर वामपन्थी कित्ताका अधिकांश नेताहरूले आक्रोशपूर्ण शैलीमा भाषण गर्दा र सकेसम्म गाली गलौजको भाषा प्रयोग गर्दा प्रभाव पर्छ भन्ने ठानेका हुन्छन् । उनीहरूका गुरुहरूले जानेको पनि त्यस्तै हुन्छ र प्रशिक्षण नै त्यही दिइएको हुन्छ । 

डा. दुर्गाप्रसाद भण्डारीले दैनिक जीवनका गतिविधिहरूमा विनोदप्रियताको महŒव उजागर गर्दै भनेका छन्– चिन्तन, मनन र सिर्जना गर्ने सबैमा हास्य र शान्त रसहरूको प्रधानता रहन्छ ।

डा. भण्डारीले भाषणमा विनोदी भावको महŒवलाई जोडेर अल्बर्ट आइन्सटाईनले आफ्नो सापेक्षतावादको सिद्धान्त व्याख्या गरेको एक दृष्टान्तसमेत पेश गरेका छन्– 

जब म विनोदशुन्य राजनीतिज्ञ अथवा विनोदशुन्य राजनीतिक शास्त्रको प्राध्यापकको भाषण सुन्छु तब एक घण्टा एक वर्ष जस्तो लाग्छ, जब म कुनै सुन्दरी स्त्रीको बाहुपाशमा हुन्छु तब एक वर्ष एक घण्टाजस्तो लाग्छ ।’ 

हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको नामै पनि अरूभन्दा अब्बल छ । ‘शेर’ शब्द फारसीबाट आएको हो । यसको अर्थ नेपालीमा ‘सिंह’ हुन्छ । ‘सिंह’ वनको राजा मानिन्छ । नेपालका प्रधानमन्त्रीको कार्यालय रहेको भवन परिसरलाई ‘सिंहदरबार’ भनिन्छ । बाघ, चितुवा र सिंहका धेरै चरित्र समान छन् । सिंहको एउटा चरित्र भने फरक छ । सिंहिनीहरू र उनीहरूका सन्तान समूहमा बस्छन् । हात्तीको पनि सामूहिक जीवन हुन्छ । पोथी हात्तीहरूको समूहमा छोरी, आमा, हजुरआमा, सानीमा र ठूल्यामा आदिको बाहुल्य हुन्छ । उनीहरू एक सयदेखि दुई सयसम्मको संख्याको हुलमा रहन्छन् । अभागी वयस्क भाले भने एकल हुन्छ । बथानमा रहेका हात्ती वा सिंहको एक नाइके हुन्छ । संकट परेका बेलामा उसको प्रधान भूमिका रहन्छ । बथानको एक मात्र रक्षाकवच ‘सामूहिक उपस्थिति’ हो । दशकौंको समूहमा रहेका हात्तीमाथि जाइलाग्न जुन जनावर पनि डराउँछ । 

शीर्षस्थ नेताको या प्रधानमन्त्रीजस्तो उच्च सार्वजनिक पद एक शक्तिशाली रक्षात्मक अस्त्र हो । यो प्रयोग नगरेरै कतिपय समस्याहरू टरेर जान्छन् । यसको दुरुपयोग हुँदा सर्वसाधारणको अपेक्षामा ठेस लाग्छ । अन्ततः यसले अलोकप्रिय नतिजा निकाल्छ । जस्तो, अहिले हाम्रा प्रधानमन्त्रीलाई भएको छ । 

नेतृत्वमा बसेको व्यक्तिलाई गल्ती गर्ने, चुक्ने वा गल्ती दोहो¥याउने सुविधा हुँदैन । मान्छेको जस्तो उच्च चेतना नभएका जंगली जनावरले पनि पद्धतिअनुसार नेतृत्व गरेको हुन्छ । यसकारण फरकफरक विचार र सोच भएका सर्वसाधारणको विराट समूहलाई नेतृत्व गर्दै एउटै राजमार्गमा हिँडाउन ठूलै रणनीतिको खाँचो पर्छ । यसैले एकै पहलमा वा एक पटकमा मातहतको एउटै व्यक्तिलाई काम अराएको भरमा आफूले चाहेको जस्तो वा संस्थाको हितअनुकूल काम हुन सक्ने कार्यविधि पहिचान गर्नु राजनेताको क्षमता हो । आफ्ना गतिविधि वा भाषण विनोदीपूर्ण वा धैर्यका साथ सम्पन्न गर्न सिक्नु युवा नेताहरूका लागि अपरिहार्य छ । अहिले कार्यरत वा इतिहास भइसकेका उच्च ओहोदामा आसीन व्यक्तिको गतिविधि जतिसुकै अलोकप्रिय भए पनि त्यसबाट एउटा सकारात्मक सन्देश त पाइन्छ नै । 

त्यो सन्देश युवाले यसरी आत्मसात गर्न सक्नेछन्– भविष्यमा नेतृत्व गर्ने म जस्ताका लागि यो एक महŒवपूर्ण दृष्टान्त हो । मेरो पालामा त्यस्तो अलोकप्रिय काम हुने छैन ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं